इटहरीः इटहरी उपमहानगरले थारु नगर प्रमुख हुँदा सम्म थारुको उत्थान र संरक्षणमा सिन्को नभाँचेको थारु अगुवाहरुले आरोप लगाएका छन् ।

थारु जातीको बाहुल्यता रहेको इटहरी उपमहानगर भित्र रहेका बिभिन्न ग्रामथानहरुको संरक्षणमा नेतृत्व उदासिन देखिनुका साथै कतिपय ग्रामथानहरुमा डोजर समेत लगाइएको आरोप लागेको छ ।

इटहरी मुलबासी थारुहरु रहेको उपमहानगरका वडाहरुमा कामकाजी भाषा थारु रहनुपर्ने, इटहरीको पहिलाका जमिनदारहरु थारुनै रहेता पनि अहिले उनिहरुनै सुकुम्बासी सरह रहेको भन्दै थारु अगुवा तथा पत्रकार निशान प्रकृति थारुले थारुको बिषयमा जसले प्राथमिकता दिन्छ त्यसैलाई आफुहरुको समर्थन रहने बताएका छन् ।

सामाजिक संजालको प्रयोग गर्दै निसानले इटहरीका कतिपय वडामा थारुहरु नेपाली भाषा समेत शुद्ध बोल्न नसक्ने अवस्थामा रहेकाले त्यो ठाउँमा कामकाजी भाषाको रुपमा थारु भाषालाई राख्नुपर्ने आवाज उठाएका छन् ।

थारु पत्रकार संघ सुनसरीको जिल्ला अध्यक्ष समेत रहेका थारुले इटहरीका पहिलेका जमिनदार प्राय सबै थारुहरु भएकाले उनिहरु अहिले कुन अवस्थामा छन् त्यसको अभिलेख राख्ने उनिहरुलाई सम्मान, उत्थान गर्ने काम पनि अवको स्थानीय सरकारको प्राथमिकतामा पर्नुपर्ने भनाई राखेका छन् ।

279572331_3090297204564471_2668594788485611427_n

थारु नै नगरको प्रमुख भएर पाँच बर्ष विताउँदा पनि थारु उत्थानमा केहि गर्न नसकेको निशालले प्रदेश पोर्टललाई बताए । ‘जसले इटहरीलाई सबै कुरा दियो त्यो जाति अहिले सुकुम्बासी हुने अवस्थामा छ त्यसको उत्थानमा अवको स्थानीय सरकार लाग्नुपर्छ ’ थारुले भने ।

अहिले गठबन्धन गरेर निर्वाचनमा होमिएको इटहरीको चार दलिय मोर्चाले थारुहरुको हितका लागि संकल्पपत्रमा समावेश गरेको कुरा सकारातमक भएको निशानले टिप्पणी गरेका छन् । ‘थारुको कुरा सुन्ने जुनसुकै जाति भएपनि जो थारुको समर्थन गर्छ उसैलाई साथ दिने र सत्तामा पुर्याउने हो ।’ निशानले थपे ।

थारु अगुवा सावित्री चौधरीले थारु संस्कार संरक्षण गर्ने गरी पार्टीहरुले आफ्ना नारामा समेत प्रश्रय नदिएको बताएकी छन् । केहि दलका चुनावी घोषणामा यो गर्छौ उ गर्छौ भनेर लेखिएको भएता पनि अव थारुकोहरुको मुद्धा सम्बोधन गर्न स्थानीय सरकारले कानुननै बनाएर अगाडी बढ्नुपर्ने धारणा राखिन् ।

ग्रामथान संरक्षण तथा संम्बद्र्धन समिति सुनसरी जिल्ला अध्यक्ष तेजनारायण चौधरीले थारुको मात्रै नभई सम्पुर्ण जातजातीका आफ्ना आफ्नै संस्कृती हुने भएकाले ती सबैको संरक्षण र संम्बर्दन हुनुपर्ने बताए । उनले इटहरीको आदीवासी थारुहरुको हजारँँौँ विघा जमिन आज प्लटिङ्ग गरेर केहि सय विघामा झारिसकेको र थारु संस्कृती सँग जोडिएका पोखरी र ग्रामथानहरुको विनास हुँदा आफुहरुलाई आफ्नो संस्कारका विभिन्न कामहरु गर्न नै गाह्रो भएको बताए ।

चुनाव आउँदा भोटका लागि नारा बनाउने दलहरुले थारुका अगुवाहरुलाई भेटेर उहाँहरुका के के समस्याहरु छन् त्यसलाई के कसरी समाधान गर्न सकिन्छ भनेर छलफल भने नगर्ने गरेको आरोप दलहरुलाई लगाएका छन् । थारु जातीहरुको संस्कार सस्कृती सम्बद्र्धनका लागि अघिल्लो इटहरी सरकार पनि उदार नदेखिएको तेजनारायणको भनाई थियो ।

द्धारिकलाल चौधरी थारु भएता पनि एमालेबाट निर्वाचित भएको हुँदा एमालेको त्यस्तो नितिनै नभएका कारण ध्यान नदिएको तेजनारायणले बताए ।‘ थारु भन्दैमा केही हुँदैन जुन जात जाती भएता पनि वन जंगल र पोखरीहरु सबैलाई चाहिने भएकाले जसले पनि यसमा चिन्ता व्यक्त गरेर काम गर्न सक्छ ’ चौधरीले सुनाए ।

नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धनले इटहरीको नाम नै थारु भाषाबाट राखिएको र इटहरीको मूल आदिवासी नै थारु भएकाले थारु भाषाको संरक्षण सम्बद्र्धन र ब्राण्डीङ्ग नगरको दायीत्व भएको बताउँदै यसका लागि थारु जातीलाई इटहरीको पहिलो जातिको रुपमा सुचिकृत गरिने र यसका साथै नमुनाको रुपमा एउटा बिद्यालयमा ऐच्छिक बिषयको रुपमा थारु भाषा र संस्कृतिको पठन पाठन सुरु गरिने संकल्प अघि सारेको छ ।

1514534218_maghi_nepal

गठबन्धनले इटहरी चौक नजिकै धरान रोडमा रहेको पुरानो ग्रामथानको संरक्षण गरी थारु संस्कृतिको पहिचान देखिने स्वरुप दिइने र पूर्बी नेपालका थारु, राई, लिम्बु, तामाङ्ग, नेवार, ब्राम्हण, क्षेत्री लगायत बिभिन्न जातजातिको रहन सहन भेषभूषा, बाजागाजा तथा जीवन शैली झल्कने साझा सांस्कृतिक सङ्ग्राहलय निर्माण गरिने पनि बताएको छ ।

मधेसी, मुस्लिम, अल्पसंख्यक समुदायको सँस्कृतिको संरक्षण गरिने र गुम्बा, मन्दिर, मस्जिद, ग्रामथान एवं विभिन्न जात जातिका सम्पदाहरुलाई सुचिकृत गरी संरक्षण गरिने समेत गठबन्धनका दलले अघि सारेको संकल्पपत्रमा खुलाइएको छ ।

त्यसैगरी इटहरी उपमहानगरको मेयर पदमा स्वतन्त्रबाट उम्मेद्वारी दिएका पदम कुमार अधिकारीले थारु भाषालाई कामकाजीको भाषाको रुपमा प्रयोगमा ल्याउने आफ्नो कार्ययोजनामा खुलाएका छन् ।

थारु इटहरीका लागि रैथाने जाती भएकाले थारुहरुको संस्कृती र सम्पदालाई संरक्षण गर्नु नगरको दायित्व भएको अधिकारीको भनाई छ । बहुसंख्यक थारुहरु वडा अध्यक्ष र नगर प्रमुख समेत थारु हुँदा पनि थारुको उत्थानमा केहि नभएको अधिकारीको भनाई छ ।