बराहक्षेत्रः रोशन खड्का राजनीतिमा नयाँ अनुहार हुन् । तर उनको सामाजिक सक्रियता भने बिछट्टै लोभलाग्दो छ । सरल, मिजासिला र पार्टीभित्र सबैसँग प्रगाढ सम्बन्ध बनाउन सफल खड्काको काधमा यतिबेला नेपाली कांग्रेस बराहक्षेत्र नगरपालिका ८ वडाको भविष्य जोडिएको छ । कांग्रेसले वडा अध्यक्ष पदको लागि सुम्पिएको टिकटको शाख जोगाउन पनि खड्कालाई विशेष रूपमा हेरिएको छ ।

उसो त युवा नेता खड्काले टिकट पाउदैगर्दा पार्टीभित्रै असन्तुष्ट पक्षहरु नभएका भने होइनन् । वडा सभापति खेम थापाले वडा अध्यक्ष पदमा स्वतन्त्र उम्मेद्बारी समेत दिए । तत्पश्चात् वडा सभापति थापासहित पार्टीका आधाजसो क्षेत्रीय प्रतिनिधि, टोल सभापति, नगर सदस्य, वडा पदाधिकारीले सामूहिक राजीनामा समेत गरेका थिए । तर अहिले सबैले उम्मेद्बारी फिर्ता लिएपछी राजिनामा समेत फिर्ता गरिएको छ ।

सरसर्ती रूपमा सभापति थापाले उम्मेद्बारी फिर्ता लिएपछि पार्टी एकढिक्का भएको देखिन्छ । उमेदवार रोशन खड्काको प्यानललाई जिताउन वडाभरका सबैखाले नेता घरदैलो अभियानमा हिड्न थालेका छन् । ८ वडामा अहिले नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)बीचको गठबन्धन जारी छ भने प्रमुख प्रतिस्पर्धीको रूपमा नेकपा एमाले रहेको छ । सभापति खेम थापाले भनेका छन्,‘हाम्रो चुनावी एजेन्डा, तयारी र जनमानसको आभास सुन्दैगर्दा हामी जीतको नजिक छौ भन्ने भान भएकी छ ।’

नेकपा एमालेले आफ्नो जीत सुनिश्चित रहेको भनेर दाबी गर्ने यस् वडामा नेपाली कांग्रेस र माओवादी केन्द्रबीचको गठबन्धनको माहोल सँगै सम्भावना समेत बढेको एक स्थानीयले बताए । छोटो समयमा विभिन्न राजनीतिक र सामाजिक सफलता हासील गरेका उमेदवार खड्का यसपटक बराहक्षेत्र ८ मा जीत हासिल गरेर इतिहास रच्ने दाउमा देखिन्छन् भने प्रतिस्पर्धा समेत कडा हुने बुझिन्छ ।