इटहरीः भगबण्डामा कुरा नमिलेको भन्दै गठबन्धनबाट बाहिर बसेर मेयर उपमेयर सहित एकल उम्मेद्वारी दिएको जनता समाजवादी पार्टीले इटहरीमा अन्तत मेयर उपमेयरको उम्मेद्वारी निस्क्रिय गर्ने र गठबन्धनलाई नै सघाउने निर्णय गरेको छ ।

जनता समाजवादिले इटहरीमा मेयर पदका लागि डिल्ली सुव्वा र उपमेयरमा योसा गुरागाईले उम्मेद्वारी दिएका थिए । सोमबार भएको सहमति पछि डिल्ली सुव्वाले एक विज्ञप्ती सार्वजनिक गर्दै आफुहरु गठबन्धनलाई नै सघाउने र वडामा मित्रवत प्रतिस्पर्धा गर्ने निर्णय गरेको बताएका छन् ।

नेपाली काँग्रेस नेतृत्वको नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्र सहितको गठबन्धनमा जसपा पनि सामेल हुने भएको हो ।

वैशाख ३० गते हुने निर्वाचनमा नेपाली काँग्रेसका नगर सभापति हेमकर्ण पौडेलले गठबन्धनको तर्फबाट मेयरमा उम्मेदवारी दिएका छन् । उपमेयरमा नेकपा एसका केन्द्रीय सदस्य केशव कुमार विष्ट उम्मेदवार भएका छन् ।

वैशाख १६ गते पार्टी केन्द्र र पाँच दलीय गठबन्धनको निर्देशन बमोजिम जसपा नेपालको तर्फबाट मेयर र उपमेयरका प्रत्याशी उमेद्धवारले उम्मेदवारी फिर्ता लिने र गठबन्धनका दललाई सघाउने निर्णय गरेको हो ।

केन्द्रीय निर्देशन बमोजिम वडा देखी नगर सम्मका पार्टी कार्यकर्तालाई परिचाल गरिने जसपा नगर अध्यक्ष डिल्ली प्रसाद सुब्बाले बताए । गठबन्धनका दललाई सघाएर अगाडी बढ्न आफू पहिला देखी नै तयार भए पनि प्राविधिक कारणले ढिलाइ भएको उनको भनाई छ ।