इटहरीः इलाका प्रहरी कार्यालय र औषधी व्यवस्था विभाग कार्यालय विराटनगरको टोलीले इटहरीमा क्लिनिक सञ्चालन गरी इजाजत विना नै पाईल्स फिसर फिस्टुलाको उपचार गर्ने एक नक्कली डाक्टरलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार इटहरी उपमहानगरपालिका ४ शिशिर टोलस्थित ताराकुमार खनालको घरबाट भारतीय सुजित रायलाई पक्राउ गरिएको हो ।

भारत पश्चिम बंगालका २८ बर्षीय सुजित राय पक्राउ परेका हुन् । उनले करिब २ महिना अघि खनालको घरमा डेरा लिएर सार्थक उपचार क्लिनिक सञ्चालन गरेका थिए । उनले विना ईजाजत पाईल्स फिसर फिस्टुलाको उपचार गर्ने र औषधीसमेत बिक्री गर्दै आइरहेको प्रहरीले जनाएको छ ।

उनलाई ईलाका प्रहरी कार्यालय इटहरी र औषधी व्यवस्था विभाग कार्यालय विराटनगरको संयुक्त टोलीले क्लिनिकबाट नै पक्राउ गरेको हो । क्लिनिकबाट विभिन्न कम्पनीको औषधीहरु पनि वरामद भएको प्रहरीले जनाएको छ ।

रायलाई जिल्ला अदालत सुनसरीबाट ईलाज सम्बन्धी मुद्दामा ७ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको सुनसरी प्रहरीले जनाएको छ ।