इटहरीः आसन्न स्थानीय तहको निर्वाचनमा धरानको गठबन्धनबाट बाहिर रहेको जनता समाजवादी पार्टी (जसपा) ले पनि गठबन्धनको मेयर उपमेयर उम्मेद्वारलाई सघाउने भएको छ ।
मेयर उपमेयरसहित १५ वटा वडामा उम्मेद्वारी दर्ता गराएको जसपासँग नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको सहमति भएको हो ।
धरानमा अब ४ दलीय गठबन्धनबाट मेयरका उम्मेद्वार किसोर राई र उपमेयरका उम्मेद्वार अइन्द्रबिक्रम बेघा मात्र रहेको र आफुहरुले उनै उम्मेद्वारलाई सघाउने सहमति भएको जसपाको भनाई पत्रकार सम्मेलनमार्फत गठबन्धन दलहरुले उद्घोष गरेका छन् । गठबन्धनमा सहमति नहुँदा जसपाले मेयर र उपमेयरमा उम्मेद्वारी दिएको थियो ।
जसपाले हिजो (मंगलबार) गठबन्धनको मेयर र उपमेयर उम्मेद्वारलाई समर्थन गर्ने घोषणा गरेको हो । अब जसपाको सम्पुर्ण शक्ति मेयर र उपमेयरमा गठबन्धनका उम्मेद्वारलाई जिताउन लागिपर्ने जसपा धरानका अध्यक्ष ताजुब लिम्बुले पत्रकार सम्मेलनमा बताएका छन् ।
गठबन्धनले मेयर उपमेयरमा गठबन्धनको साझा उम्मेद्वारलाई सघाउने र वडाहरुमा मित्रवत प्रतिस्पर्धामा रहेका सहमतिका वडामा आफ्ना प्रतिनिधिलाई जिताउन पहल गर्ने सहमति बनेको छ ।
यसैगरी, गठबन्धन दलका उम्मेद्वारले जितेको वडा र नगरमा गठबन्धन दलको राजनीतिक संयन्त्र निर्माण गरी साझा नीति तथा कार्यक्रम बनाउने र वडा तथा नगरमा बन्ने विभिन्न बिषयगत समिति, उपसमितिहरुमा सम्मानजनक सहभागिता गराएर वडा तथा नगर सञ्चालन गर्ने सहमति भएको छ ।
जनता समाजवादी पार्टीले नगर प्रमुख र उपप्रमुख पदमा दिएको उम्मेद्वारलाई निष्कृय पार्ने साथै वडाहरुभमा दिएको उम्मेद्वारीहरुलाई पनि सबै दलले सम्भव भएसम्म समझदारीमा ल्याउन पहल गर्नेलगायत सहमति भएको छ ।