बराहक्षेत्रः सुनसरीको बराहक्षेत्र नगरपालिका ५ वडामा चुनावी माहोल हेर्न लायक देखिन्छ । एक से एक उमेदवारहरुबीच रोचक प्रतिस्पर्धा हुने भएपछि यहाँको चुनावी माहोललाई धेरै पक्षबाट नियालिइरहेको बुझिएको हो 

यस् वडाबाट नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) बीचको गठबन्धनबाट साझा उमेदवार नेपाली कांग्रेसका युवा नेता रोहित काफ्ले अध्यक्ष पदका लागि दौडाहामा छन् भने नेकपा एमालेको तर्फबाट देबेन्द्र बिष्ट अध्यक्ष पदको चुनावी मैदानमा छन् । काफ्ले र बिष्ट त्यस स्थानका लागि बौद्धिक सर्कलका व्यक्तित्वको रूपमा परिचित छन् ।

त्यस्तै, भरौलका धर्तीपुत्रका रूपमा चिनिन चाहाने पुष्प नारायण राजधामी नेकपा (एकीकृत समाजवादी)को तर्फबाट अध्यक्ष पदमा लड्दैछन् भने सँगै यस क्षेत्रमा समाजसेवी व्यक्तित्व भनेर चिनिएका अर्जुन भट्टराई राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अध्यक्ष पदमा लड्दैछन् । राजधामी र भट्टराईले प्राप्त गर्ने मतको आधारमा विजयी हुने अध्यक्षको निक्र्योल हुने आंकलन गर्ने गरिन्छ । यद्यपि कांग्रेसको गठबन्धनका उमेदवार र एमालेका उमेदवारहरुबीचको प्रतिस्पर्धाको सुखद फाइदा एस र राप्रपालाई हुँदा उनीहरूमध्ये एकको विजयी हुने सम्भावना रहेको विश्लेषकहरु बताउँछन् ।

यसैगरी बराहक्षेत्र ५ का स्थायी बासिन्दा सुर्य बहादुर बस्नेतले अध्यक्ष पदकै लागि स्वतन्त्र उम्मेद्बारी दिएका छन् । यहाँको भ्रष्टाचार, अनियमितता र बिसंगतीबारे सामाजिक सञ्जालबाट आवाज बुलन्द गर्दै आएका बस्नेतको समेत उपयुक्त सम्भावना रहेको बुझिन्छ ।एक स्थानीय भन्छन्, ‘यहाँ यसपाली गज्जबको प्रतिस्पर्धा हुने देखिन्छ, उमेदवारहरु कोहि भन्दा कोहि कम छैनन्, प्रतिस्पर्धामात्र होईन डबल प्रतिस्पर्धा होला जस्तो छ ।’

निर्णायक राजु अधिकारी

नेकपा एमालेबाट विद्रोह गरि बराहक्षेत्र नगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेद्बारी दिएका राजु अधिकारी बराहक्षेत्र ५ का स्थायी बासिन्दा हुन् । उनी यसअघि यहि वडाका अत्याधिक मतका साथ अध्यक्ष पदमा निर्वाचित भएका समेत थिए । उसो त अधिकारी यतिबेला नेकपा एमालेसँग रुष्ट देखिन्छन् । उनले उम्मेद्बारी दर्ता गर्दैगर्दा भनेका छन्,‘निलम खनालले बराहक्षेत्र नगरको मेयर हुँदैगर्दा गरेका अनियमितता, भ्रष्टाचार र बेरुजुको विरुद्धमा मैले उम्मेद्बारी दिएको हुँ ।’ यसबाट उनी पार्टीप्रति रुष्ट हुँदा आफ्नो वडामा भने कसलाई सहयोग गर्लान भन्ने चासोको विषय बनेको छ ।

यद्यपि उनले सहयोग गर्ने पात्रको जीत निश्चित हुने स्थानीयको विश्वास छ । पार्टीप्रतिको असन्तुष्टिका कारण उनले आफूहरूलाई सहयोग गर्नेमा नेपाली कांग्रेसको गठबन्धनका पक्षधरहरुको विश्वास छ । यदि यसो भएमा रोहित काफ्लेको जीतलाई सहज हुने देखिएपनि आफ्नो सहयोग कसलाई हुने भन्नेबारे औपचारिक कुरा नगर्ने राजु अधिकारीको भनाइ छ ।