इटहरीः उम्मेदवार र मतदाता बिचको दुरी कम गर्न इटहरीमा सोमबार आयोजना गरिएको ककस कार्यक्रममा एमालेका उम्मेदवार उपस्थित नभएपछि कार्यक्रम नै बिथोलिएको छ ।
एरिना टेलिभिजनको आयोजनामा हुन लागेको कार्यक्रममा इटहरीबासी र इटहरीमा मेयर उपमेयरको उम्मेदवारी दिएका उम्मेदवारको बिचमा अन्तरकृया कार्यक्रम ककस राखिएको भएपनि आमन्त्रित नेकपा एमाले इटहरीका मेयर पदका उम्मेदवार याम कुमार सुब्बा नआएपछि कार्यक्रम बिथोलिएको थियो ।
युवाहरु र नगरबासी उम्मेदवारको योजना सुन्न आत्तुर रहेपनि जिम्मेवार भनिएको दलका उम्मेदवार नआउँदा कार्यक्रम नै हुन नसकेपछि आयोजकले नै माफी माग्नु पर्न अबस्था आएको थियो । कार्यक्रममा आफ्नो घरदैलो कार्यक्रम स्थगित गर्दै उपस्थित भएका गठबन्धनका मेयर तथा उप मेयर पद्का उम्मेदवार सहित स्वतन्त्र उम्मेदवार उपस्थित भएका थिए ।
नेकपा एमालेका उम्मेदवार नआएपछि युवाहरुले एमाले विरुद्ध नाराबाजी गर्दै एमालेलाइ भोट नदिने सम्मको उत्तेजित अभिव्यक्ति दिन भ्याए । बोल्नु पर्ने नेता उपस्थित नै नभएपछि गठबन्धनका तर्फबाट र अन्य उम्मेदवार आफु बसिरहनु पर्ने अबस्था नरहेको भन्दै मञ्च छाडेपछि एकाएक कार्यक्रमस्थल बाट जनताहरु आक्रोसित हुँदै हिँडे ।
कार्यक्रममा बोलाइएका स्वतन्त्र उम्मेदवार पदम कुमार अधिकारीले बैचारिक रुपमा स्खलन भएका दलहरुको हैसियत देखाएको टिप्पणी गरेका छन् ।