इष्ट टुरिजम इभेन्ट म्यानेजमेन्ट एन्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित प्रदेश पोर्टल डट कम स्थापनाकालदेखि नै निरन्तर रुपमा सत्य सूचना तथा समाचार सम्प्रेषणको कार्यमा तल्लिन रहेको छ । सामाजिक उत्तरदायित्वको सिद्धान्तलाई आत्मसात गर्दै समाजको प्रगतिशील रुपान्तरणका लागि आवाजमा शक्ति छ भन्ने मान्यताका साथ सरोकारवाला निकाय र आम जनसमुदाय बीचको सेतुका रुपमा रही तल्लो तहका समस्याको उपल्लो तहबाट समाधान खोज्ने प्रयत्न नै हाम्रो प्राथमिक कार्यभार हो भन्ने तत्वबोध गरी सोही दिशामा हामी निरन्तर कृयाशील छौँ । स्थानीयताको प्रवद्र्धन र जनउत्तरदायी शासनको अपरिहार्यतालाई अनुभुत गरी लोकतान्त्रिक शासन व्यवस्थालाई सुदृढ र जनमुखी बनाउने तथा नागरिकका दुःखमाथि सरकारको आँखा र कानलाई केन्द्रित गर्ने सवालमा हामी सँधै जनताको सारथीको भूमिकामा रहिआएका छौँ ।

राज्यको चौथो अङ्ग मानिने पत्रकारिताका माध्यमबाट सत्तालाई सचेत गराउने अभिभारा निभाउने क्रममा हामी सरकारको स्थायी प्रतिपक्षीका रुपमा यसले जनतामाथि गर्ने ज्यादतिविरुद्ध निरन्तर शब्दवाण वर्षा गरिरहेका छौँ । प्रमाणसम्मत समाचारका माध्यमबाट गरिने सरकारी दमन, उत्पीडन वा गैरकानूनी हर्कतको पर्दाफासबाट नै विधिको शासन बलियो हुन्छ भन्ने विश्वासका साथ सरकारी निकायमा हुने आर्थिक अनियमितता, नीतिगत भ्रष्टाचार, अख्तियारको दुरुपयोग, तजबिजी आधारमा पहुँचवालालाई दिइने नियुक्ति, सार्वजनिक सम्पत्तिको दोहन वा क्षति, कर्मचारीले सेवाग्राहीलाई दिने सास्ती वा सेवामा हुने ढिलासुस्तीजस्ता सार्वजनिक सरोकारका मूलभुत विषयहरुमा हामीले निरन्तर आवाज बुलन्द गर्दै आएका छौँ ।

समाजको असल पहरेदारका रुपमा हामीले गरेका खोज पत्रकारिताले पटकपटक स्थानीय सत्ताका कर्तुतहरु उदाङ्गिएको तथ्यले हामीलाई आफ्नो कर्ममा डटेर लाग्न प्रेरणा दिने गर्दछन् । केही वर्षअघि प्रदेश पोर्टल डट कमले प्रकाशन गरेको समाचारकै कारणले इटहरी सरकारको ढुकुटीबाट सीएफएल बल्ब खरिदका नाममा लाखौँ रकम अपचलन हुनबाट जोगिएको घटना जनमानसमा अद्यापि विद्यमान रहेको छ । स्थानीय सरकारमा आसिन जनप्रतिनिधिसमेत बेरुजुको भागीदार बन्दा महालेखापरीक्षकको कार्यालयले कानूनी डण्डा चलाई रकम असुलउपर गर्न गरेका पत्राचारहरुबारे प्रमाणिक समाचार सम्प्रेषण गरी जनप्रतिनिधिको धनमुखी रवैया सतहमा ल्याउन पनि प्रदेश पोर्टलले उल्लेखनीय भूमिका खेलेको छ । यति मात्र नभई नगरपितासमान मानिने मेयर द्वारिकलाल चौधरीबाट भएका पत्रकारमाथि हातपात, महिलामाथि अभद्र व्यवहारजस्ता गैरकानूनी हर्कतहरुका विरुद्ध पनि हामीले तथ्यपूर्ण सूचना जनसमक्ष सम्प्रेषण गरेका छौँ ।

तर दुर्भाग्यवश इटहरीको वर्तमान सत्ता हामीप्रति सर्वथा असहिष्णु रहँदै आएको छ । आफू निर्वाचित भएकै वर्ष प्रदेश पोर्टलकर्मी पत्रकारलाई समाचार प्रकाशनका लागि कडा प्रश्न सोधेकै आधारमा सार्वजनिकस्थलमा दुव्र्यवहार गरेका मेयर चौधरीले त्यसयता पनि पटकपटक हामीमाथि लक्षित गर्दै एकपक्षीय समाचार सम्प्रेषण गरेको निराधार आरोपहरु लगाइरहेका छन् । हामीमाथि लगाइएको एकपक्षीयताको आरोपलाई खण्डन गर्न हामीले नै प्राथमिकताका साथ प्रकाशन गरेका नगर सरकारका प्रगति तथा विकास निर्माणका गतिविधि समेटिएका समाचारहरु नै पर्याप्त छन् । इटहरी सरकारका प्रेस सल्लाहकार लिलाराज भट्टराईले तयार गरी पठाएका थुप्रै नगर सरकारको गुणगानले भरिएका समाचारहरुलाई हामीले बिनाभेदभाव प्राथमिकताका साथ प्रकाशन गरेका छौँ ।

प्रदेश पोर्टलको पवित्र लोगोको दुरुपयोग गर्दै मेयर चौधरीले यसको ख्यातिमाथि गम्भीर आघात पुग्नेगरी पक्षपाती मिडियाको रुपमा प्रदेश पोर्टललाई चित्रण गर्दै सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेको स्टाटसप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । मेयर चौधरीको यो हर्कतलाई हामीले उनको विवेकशुन्य बर्बराहटका रुपमा लिएका छौँ । पटकपटक हामीमाथि आधारहिन लाञ्छना लगाइरहने चौधरीको यो हर्कत हद दर्जाको निकृष्टताको प्रतिबिम्ब हो भन्ने हाम्रो ठहर छ ।

प्रदेश पोर्टल डट कम एक कानूनी व्यक्ति भएकाले यसको ख्यातिमाथि आघात पुर्याउनु कुनै प्राकृतिक व्यक्तिको चरित्रहत्या गर्नुसरह सङ्गीन कसुर हो भन्ने बोधसमेत गर्न नसक्नु मेयर चौधरीको मानसिक दरिद्रताको प्रतिरुप हुनुका साथै यसमाथि दीर्घकालीन विद्वेश राख्नुलाई उनको कुत्सित मनस्थितिको उपजका रुपमा हामीले लिएका छौँ । यस्तो च्युत मनस्थितिले उनलाई कालान्तरमा इटहरीको राजनीतिबाटै नामेट गराउन सक्दैन भन्न सकिन्न ।

आफ्ना क्षुद्रतम हर्कतहरुकै कारणले पार्टीको जिल्ला अधिवेशनमा ८० मतको लज्जास्पद पराजय व्यहोरेका मेयर चौधरीले आफू नगरको भूमिपुत्र भएको रटानका बावजुद स्थानीय चुनावमा पार्टी नेतृत्वकै चाहनाअनुसार मेयरको टिकट पाउने सूचीबाटै बेदखल हुनुपरेको कटु यथार्थलाई बोध गरी आफ्नो राजनीतिक र सामाजिक छबि सुधार्न अझै पनि सुरु नगर्ने हो भने भीरबाट लड्न लागेको गोरुलाई देखेर राम राम भन्न सकिन्छ तर काँध थाप्न सकिँदैन भन्ने उखान चरितार्थ हुन धेरै समय लाग्नेछैन ।

यति मात्र नभई उनको अलोकप्रियताको छाया समग्र पार्टीकै राजनीतिक भविष्यमाथि पनि प्रेतछाया साबित नहोला भन्न मुस्किल छ । यसर्थ, एक जिम्मेवार मिडिया भएको नाताले हामी अझै पनि मेयर चौधरीलाई आत्मालोचना गर्दै सत्मार्गमा अग्रसर हुन आग्रह गर्दछौँ । अन्यथा हाम्रा तर्फबाट उनीउपर वर्षा गरिने कानूनी डण्डाबाट उनलाई कसैले बचाउन सक्नेछैन ।