इटहरीः यहि बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा इटहरी उपमहानगरपालिकाको मेयर पदमा उम्मेद्वारी दिएका हेमकर्ण पौडेलले इटहरीका नागरिकको मुहारमा खुशी ल्याउन गठबन्धनलाई भोट दिन इटहरीबासीलाई आग्रह गरेका छन् ।
गठबन्धनको तर्फबाट संयुक्त २५ बुँदे संकल्प–पत्र सार्वजनिक गर्ने कार्यक्रममा बोल्दै उपमहानगरपालिकाको मेयर पदका उम्मेद्वार पौडेलले नेकपा एमालेले इटहरीमा जितिरहँदा स्वेच्छाचारी प्रवृति बढाउँदै गएको भन्दै पौडेलले एक पटक लोकतान्त्रिक गठबन्धनलाई इटहरीको नेतृत्व सुम्पन नगरबासीलाई आग्रह गरेका हुन् । । उनले आफु नगरबासी सबैको मेयर हुने भन्दै हिजो पुरा नभएका सपनाहरु पुरा गर्न नेपाली कांग्रेस नेतृत्वको गठबन्धनलाई मत दिन आग्रह गरे ।
वहालवाला मेयर द्धारिकलाल चौधरी तर्फ इंकित गर्दै मेयरका प्रत्यासी पौडेलले थारु मेयर हुँदा कति इटहरीका ग्रामथानमा डोजर लागे भन्ने आफुहरुलाई जानकारी भएको भन्दै सबै जातजातीको प्रतिनित्व गर्ने गरी आफु नेतृत्वको गठबन्धनले जनताको सेवा गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।
संकल्प–पत्र तथा घोषणापत्र सार्वजनिक कार्यक्रममा बोल्दै उपमेयरका उम्मेद्वार केशव कुमार विष्टले आफुहरुले गर्ने र नगर्ने प्रतिवद्धताहरु समेत संकल्प–पत्रमा सार्वजनिक गरेको बताउँदै इटहरीको विकासमा सत्ता गठबन्धनले गर्नुपर्ने भन्दा माथि रहेर काम गर्ने बताए । विष्टले आफुहरुसँग नगरको विकासको स्पष्ट खाका भएको बताउँदै सत्ता गठबन्धनलाई जिताए आफुहरुले इटहरीलाई महानगरको यात्रामा अगाडी बढाउँने संकल्प लिएको समेत स्पष्ट पारे ।
कार्यक्रमका बोल्दै सत्ता गठबन्धनको अर्को दल नेकपा माओवादी केन्द्रका प्रदेश एक उपाध्यक्ष शिव डाँगीले नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई २ तिहाईको सरकार नपचेका कारण आज यो अवस्थामा आएको भन्दै माओवादीले इटहरीको गठबन्धनमा महत्वपुर्ण भुमिका खेलेर अगाडी बढ्ने र अव गठबन्धनको जितलाई कसैले रोक्न नसक्ने दावी गरे ।
नेपाली कांग्रेसका केन्द्रिय सदस्य राजिव ढुँगानाले गठबन्धनले सार्वजनिक गरेको संकल्प–पत्र आश्वासनको पोको नभई इटहरीको भाग्य र भविश्यसँग जोडिएको बताए । नेकपा एमालेले धेरैपल्ट जारी गरेका घोषणापत्र चुनावको भोलीपल्ट च्यातेर फाल्ने गरेको भन्दै ढुंगानाले पुरा नहुने कुरा घोषणापत्रमा देखाएर एमालेले पटक –पटक इटहरी र यहाँका जनतालाई ठग्ने गरेको आरोप लगाए ।
नेपाली कांग्रेसमा कुनै मतभेद नभएको दावी गर्दै ढुंगानाले एकढिक्का भएर चुनावमा लाग्न मातहतका कार्यकर्तालाई अनुरोध समेत गरे ।नेपाली कांग्रेसकै केन्द्रिय सदस्य तथा सांसद कल्पना चौधरीले महिलाले उपमेयरको उम्मेद्वार हुन नपाएपनि जित हासिल गरेपछि स्थानीय सरकारमा महिलालाई सम्मान जनक स्थान दिन इटहरीको नेतृत्वलाई आग्रह गरिन् ।
अघिल्लो स्थानीय निकायको निर्वाचनमा मेयरको प्रत्यासी बनेका कांग्रेस नेता रोहित प्रसाईले संकल्प–पत्रमा पाँच बर्षभित्र सम्भव हुने कुराहरुमात्र समेटिएको र कल्पना भन्दा माथि र क्षमता भन्दा बढि कुरा घोषणा–पत्रमा राखेर जनतालाई मुर्ख बनाउने काम आफुहरुले नगर्ने बताए । ‘झुटा कुरा लेखेर जनतालाई ढाँट्ने काम केपी ओलीलाई छाडेका छौँ ।’प्रसाईले अघि भने ।
कार्यक्रममा विकास केसी, मजदुर नेतृ पंक्षी वाइवा, नेकपा माओवादीका इटहरी नगर अध्यक्ष बहादुर सिंह तामाङ्ग, नेपाली कांग्रेसका नेता भिम पौडेल लगायतका नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो ।