इटहरीः इटहरी उपमहानगर पालिकाको विभिन्न पदमा स्वतन्त्र उम्मेद्वारी दिएका केही उम्मेद्वारहरु स्वतन्त्र प्यानलनै बनाएर चुनावी अभियानमा होमिएका छन् ।

समृद्ध इटहरीको अवधारणा सहित इटहरीमा सबै भन्दा पहिले स्वतन्त्रबाट मेयर पदको उम्मेद्वारी दिने घोषणा गरेका पदम कुमार अधिकारीले स्वतन्त्रहरुलाई पनि संगठित गरेर चुनावी अभियानमा होमिएपछि एकपक्षले स्वतन्त्रपनि दलगत प्रणालीमै गएको टिप्पणी गर्न थालेका छन् ।

अधिकारीले स्वतन्त्रबाट इटहरी उपमहानगरको मेयरको उम्मेद्वारी दिएका छन् भने उनको समुहमा स्वतन्त्रबाट उपमेयरको उम्मेद्वारी दिने अन्जु कुमारी सिंह खवास साथै वडा अध्यक्षको लागि इटहरी वडा नम्बर ५ का स्वतन्त्र उम्मेद्वार सुरेश सुवेदी, वडा नम्बर ७ का लागि वडा अध्यक्षको स्वतन्त्र उम्मेद्वार भिनेश्वर खवास, वडा नम्बर १० को वडा अध्यक्ष पदका स्वतन्त्र उम्मेद्वार खडानन्द दाहाल साथै वडा नम्बर १३ को वडा अध्यक्षका लागि स्वतन्त्र उम्मेद्वार सुनरलाल चौधरी छन् ।

यो प्यानलका सबैलाई निर्वाचन आयोगगले खानेपानीको धारा चुनाव चिन्ह प्रदान गरेको छ । स्वतन्त्र तर्फ मेयरका उम्मेद्वार पदम अधिकारीले स्वतन्त्र प्यानललाई सहयोग गर्न चाहानेसँग सहयोग माग्दै आफ्नो बैँक खाता सार्वजनिक गरेका थिए ।

बिभिन्न विदेशी राष्ट्रको उदाहरण दिँदै अधिकारीले स्थानीय तहको निर्वाचन दलगत नभई स्वतन्त्र हुनुपर्ने र दलगत प्रणालीबाट नेपालमा विकास नभएको भनाई राख्दै आफ्नो स्वतन्त्र उम्मेदवारी घोषणा गरेका थिए ।

स्वतन्त्र पनि प्यानल नै बनाएर अघि बढेपछि स्वतन्त्रको समुह नहुने प्रतिक्रिया बजारले जनाएको छ । चुनाव चिन्ह पनि एउटै लिएकोले यो अघोषित दल भएको इटहरीका संचारकर्मी तारा पोखरेलको भनाई छ ।