इटहरीः लोकतान्त्रिक गठबन्धनका तर्फबाट इटहरी उपमहानगरपालिकाको मेयरका उम्मेद्वार हेमकर्ण पौडेलले बषौं हारेको इटहरीलाई जिताउन यसपाली गठबन्धनलाई भोट दिन इटहरीबासीलाई आग्रह गरेका छन् ।
चुनाव केन्द्रित घरदैलो कार्यक्रममा आइतबार इटहरी ५ को कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले धेरै बर्षदेखि कुनै एक दलले जितेर इटहरीले हारिरहेको बताउँदै इटहरीलाई जिताउन गठबन्धनका साझा उम्मेद्वारलाई भोट दिएर जिताउन आग्रह गरेका छन् ।
देशको लोकतन्त्र बचाउन बनेको गठबन्धन भएकाले इटहरीमा पनि गठबन्धनको जीत आवश्यक रहेको उनले बताए ।
नेकपा एमाले तर्फ इंकित गर्दै पौडेलले इटहरीलाई आहा इटहरी बनाउँछु भनेर अघिल्लो नेतृत्वले इटहरीलाई स्वाहा बनाएको आरोप लगाए ।
आहा इटहरी बनाउँछु भन्दै भोट माग्ने एमालेका माननियले स्वाहा इटहरी बनाएको बताउँदै पौडेलले आफूले गर्न सक्ने काम मात्र गर्छु भनेर भन्ने प्रतिज्ञा गरेको बताउँदै आउँदो २० वर्षमा इटहरीका हरेक क्षेत्रमा कस्तो बनाउने भन्ने लक्ष र भिजनका साथ नेतृत्व अगाडि बढ्ने बताए ।
स्थानीय सरकार भनेको मुलुकको समृद्धि र विकासको पहिलो विन्दु भएकाले जनताको भावना बुझ्न सक्ने मान्छे नेतृत्वमा पुग्न सकेमात्रै त्यो सम्भव हुने पौडेलको भनाई छ । २० औँ वर्षदेखि इटहरीमा नेकपा एमालेले जिते पनि इटहरीले हारेको र अब गठबन्धनले जितेर इटहरीलाइ जिताउने पौडेलको भनाई छ ।
इटहरी उपमहानगरपालिकामा सत्ता गठबन्धनको तर्फबाट मेयर पदमा पोडेल र उपमेयर पदका लागि नेकपा एकिकृत समाजवादीका केशव कुमार विष्टको उम्मेद्वारी परेको छ । गठबन्धनले इटहरीको धेरै वडामा समेत आफ्नो साझा उम्मेद्वार तय गरेर निर्वाचनमा होमिएका छन् । नेतृत्व तहमा राजनितिक सहमति ढिला हुँदा केहि वडामा दोहोरो उम्मेद्वारी परेको भएपनि आफुहरुको सहमति भइसकेको गठबन्धनका नेताहरुले बताएका छन् ।