इटहरीः इटहरी उपमहानगरको आसन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिएका मध्ये एक सय तेत्तिस जना उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि चार सय ८ जना उम्मेदवार प्रतिस्पर्धामा उत्रिने भएका छन् ।

शुक्रबारको समय सिमा सम्म पहिला बिभिन्न कारणले उम्मेदवारी दिएका उम्मेदवारहरुले आफ्नो नाम प्रतिस्पर्धाबाट फिर्ता लिएपछि इटहरी उपमहानगरको मेयरमा १६ उपमेयरका ७ जनाको प्रतिस्पर्धा हुने निश्चित भएको छ ।

मेयर र उपमेयरमा आफ्नो उम्मेदवारी दर्ता गराएका इटहरीका नेकपा माओवादि केन्द्रका भानुभक्त मैनाली र जनमोर्चाका लक्ष्मीकान्त ओझाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् भने उपमेयरका उम्मेदवारी दिने नेकपा माओवादी केन्द्रकी सुशिला उप्रेती र सोमनाथ निरौलाले पनि आफ्नो उम्मेद्धवारी शुक्रबारै फिर्ता लिइसकेका छन् ।

नेकपा माओवादी केन्द्रले गठबन्धनलाई जिताउन पहल गर्ने भन्दै आफ्ना सबै उम्मेद्धवारी फिर्ता लिइसकेको छ भने नेकपा एकिकृत समाजवादीले पनि गठबन्धनमा सहमति भएबाहेका सबै उम्मेद्धवारी फिर्ता लिएको छ ।

२० वडाको वडाध्यक्ष पदमा उम्मेदवारी दिएका ३४ जना, खुल्ला वडा सदस्यमा उम्मेदवारी दिएका ४७ जना, महिला वडा सदस्यमा उम्मेदवारी दिएका २६ जना र दलित महिला सदस्य पदमा उम्मेदवारी दिएका २२ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

नाम फिर्ता लिनेमा नेकपा (माओवादी केन्द्र)का स्वतन्त्र रुपमा मेयर र उपमेयरसहित वडाध्यक्ष र वडासदस्य पदमा उम्मेदवारी दिने अधिक रहेका छन् । इटहरीमा गठबन्धनसँग चित्त नबुझेको भन्दै माओवादीले स्वतन्त्र रुपमा मेयर, उपमेयरसहित वडा सदस्य पदमा स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएको थियो ।

दुई दिनसम्म भएको मनोनयन दर्तामा इटहरीमा मेयर पदका लागि १८ जना, उपमेयर पदमा ९ जनाको उम्मेदवारी परेको थियो । दुवै पदमा सम्मान दुई÷दुई जनाले उम्मेदवारी फिर्ता लिएसँगै अब मेयर पदमा १६ जना र उप–मेयर पदमा ७ जनाविच चुनावी प्रतिस्पर्धा हुने पक्का भएको छ ।

इटहरीको २० वटा वडाको लागि ८७ जनाले वडाध्यक्ष पदका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । यस्तै ४० खुल्ला वडा सदस्यमा पदमा दुई सय ३ जनाको उम्मेदवारी परेको थियो । जसमध्ये ४७ जनाले उमेदवारी फिर्ता लिएका छन् ।

बाँकी एक सय ५६ जना चुनावी मैदानमा होमिएका छन् । महिला वडा सदस्य र दलित महिला वडा सदस्यमा क्रमशः एक सय १ जना र ८९ जनाको उम्मेदवारी परेको थियो । ती मध्ये महिला वडा सदस्यबाट २६ जना र दलित महिला सदस्यबाट २२ जनाले नाम फिर्ता लिएसँगै अब महिल वडा सदस्यमा ७५ जना र दलित महिला वडा सदस्यमा ६७ जना विच प्रतिस्पर्धा हुने भएको छ ।

इटहरीमा जम्मा पाँच सय ४१ जनाले उम्मेदवारी दर्ता गराएका थिए । जसमध्ये एक सय ३३ जनाले नाम फिर्ता लिएका छन् । योसँगै इटहरीमा एक सय २ पदका लागि चार सय ८ जनाले प्रतिस्पर्धा गर्ने पक्का भएको छ ।