इटहरीः आसन्न स्थानीय तहको निर्वाचनका लागि रामधुनी नगरपालिकाको विभिन्न पदमा उम्मेदवारी दिएका ४ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

हिजो ५ बजे सम्म उम्मेदवारी फिर्ता लिने निर्वाचन कार्यतालिका अनुसार ४ जनाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृतको कार्यलय रामधुनीले जानकारी दिएको छ ।

बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा रामधुनी नगरमा कुल २३५ जनाले मनोनयन दर्ता गराएका थिए । जसमा मेयर पदका उमेदवार १ जना, वडाअध्यक्ष उमेदवार २ जना र १ जना सदस्यले उमेदवारी फिर्ता लिएका छन् ।

कार्यालयको अनुसार मेयर तर्फ जनता समाजवादी पार्टी नेपालका रामबहादुर खड्काले उमेदवारी फिर्ता लिएका छन् । यस्तै वडाअध्यक्ष तर्फ रामधुनी ३ नं. वडाबाट स्वतन्त्र वडाअध्यक्ष उमेदवारी दिएका नारायण श्रेष्ठ र रामधुनी ९ नं. वडाबाट वडाअध्यक्षमा उमेदवारी दिएका पुसलाल चौधरीले उमेदवारी फिर्ता लिएका छन् ।

वडा नं. ८ का स्वतन्त्र तर्फका वडासदस्य सिताराम मेहताले फिर्ता लिएका छन् । ४ जनाले उमेदवारी फिर्ता लिए संगै रामधुनी नगरमा २३१ जना उमेदवार चुनावी रणभूमिमा भिड्ने पक्का भएको छ ।