बराहक्षेत्रः नेपाली कांग्रेस बराहक्षेत्र ४ नम्बर वडा कार्यसमितिले आउँदो स्थानीयतह चुनावको लागि घरदैलो अभियानलाई तीब्रता दिएको छ ।
बैशाख ३० मा हुने चुनावका लागि गठबन्धनको सहयात्री दल नेकपा माओवादी केन्द्रसहित वडाका विभिन्न टोल तथा बस्तीहरुमा घरदैलो सञ्चालन गरिरहेको कांग्रेसका वडा सचिव गोबिन्द शाहले जानकारी दिए ।
नेपाली कांग्रेसतर्फबाट वडा सभापति नुतन धामीले अध्यक्ष पदमा उम्मेद्बारी दिएका छन् भने सदस्यहरुमा पिप नारायण चौधरी, बच्चुलाल चौधरी, अनु भट्टराई (नेकपा माओवादी केन्द्रको गठबन्धनबाट) र रामबती मुसहर रहेका छन् ।
बुधबार देखि सुरु भएको घरदैलो अभियानअन्तर्गत आज पिडारी र प्रतापुर टोलमा संचालन भएको थियो । सचिव शाह भन्छन्, आजसम्मको परिस्थिति र जनमानसलाई बुझ्दा वडाबासी परिवर्तनको पक्षमा देखिन्छन् ।
वर्तमान जनप्रतिनिधिहरुले कोरोनाकालमा वडाले विपन्न नागरिकलाई नहेरेको, आफ्नो स्थानहरुमा बाटोघाटोको समेत व्यवस्था नगरेको, बर्षायाममा आउने बाढीको निम्ति पानीको उचित व्यवस्थापन नगरेको लगायतका गुनासोहरु वडाबासीले राख्ने गरेको शाहको भनाइ छ । घरदैलो कार्यक्रम निरन्तर रुपमा जारी रहने र सोपश्चात् घोषणापत्रसहितको आमसभा गरिने जनाइएको छ ।
गठबन्धनको विपक्षीमा रहेको नेकपा एमालेका तर्फबाट आसाराम चौधरीलाई पुनः अध्यक्ष पदमा अघि सारिएको छ । अध्यक्ष चौधरी यसअघि समेत निर्वाचित अध्यक्ष हुन् ।