बराहक्षेत्रः सुनसरीको बराहक्षेत्र नगरपालिका १० स्थित प्रकाशपुरमा बस्दै आएका नेकपा माओवादी केन्द्रका नेता नरेन्द्र बस्नेत (भोला) माथि ज्यान मार्ने कोसिस गरिएको छ ।
सोमबार स्थानीयतह चुनावको उम्मेद्बारी मनोनयनको क्रममा केहि माओवादी नेताहरूले कांग्रेससँग चुनावी तालमेल गरेको भन्दै असन्तुष्ट जनाउँदै हत्या गर्ने कोसिस गरेको बस्नेतले जानकारी दिए ।
प्रदेशपोर्टलसँगको कुराकानीमा उनले भनेका छन्–‘हाम्रो पार्टीभित्रका केहि नेताहरुले आफ्नो स्वार्थ पूरा नहुने देखिएपछी बराहक्षेत्रमा नेपाली कांग्रेससँगको गठबन्धनलाई स्विकार गर्न नसकेर त्यसको आरोप ममाथि थुपार्दै हत्याको कोसिस गरे ।’यसबारे आफूले पार्टीको प्रदेश कमिटी, केन्द्रिय कमिटीमा जानकारी गराइसकेको समेत बताए ।
उनले आफ्नो फेसबुकमा लेखेका छन्,‘१२ गतेको दिन केहि षड्यन्त्रकारीहरुले मलाई हत्या गर्ने योजना बनाएर ममाथि आक्रमण गरिएको कुरा सबैमा जानकारी गराउँदछु’यस योजनामा संग्लनता के कस्को छ, छिटोभन्दा छिटो छानबिन गरि ति ब्यक्तिलाई कार्बाही गरियोस् ।’ उनले हत्याको कोसिस गर्ने नेताहरुको नाम भने सार्वजनिक गर्न चाहेनन् ।
घट्ना के थियो ?
केन्द्रिय सत्ता गठबन्धनलाई निरन्तरता दिदै बराहक्षेत्रमा पनि चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय भएसँगै सम्बन्धित दलका नेताहरुबीचमा छलफलसहितको पहिलो चरण बैठक निष्कर्षबिहिन टुंगियो ।
जसअन्तर्गत नेपाली कांग्रेसका तर्फबाट नगर सभापति रमेश कार्की, महासमिति सदस्य जगत बहादुर कार्की, नगर सदस्य दिनेश राई, नेकपा माओवादी केन्द्रका तर्फबाट नगर इन्चार्ज पुस्प ढुंगाना र नगर अध्यक्ष कमल बहादुर कट्वाल, नेकपा एकीकृत समाजवादीका नगर अध्यक्ष र प्रवक्ताद्वय चन्द्र मगर र शिशिर चौलागाईं र जनता समाजवादी पार्टीका नगर अध्यक्ष र कोषाध्यक्षद्वय नरेश राई र कमला कट्वालबीचको एक चरण छलफल भयो ।
पटकपटक बसेको बैठकले निष्कर्ष निकाल्न नसकेपछि अन्ततोगत्वा नेपाली कांग्रेस नेकपा माओवादी केन्द्रबीच चुनावी तालमेल हुने पक्का भयो । जुन बैठकमा कांग्रेसका केहि थान नेताहरूसहित माओवादी केन्द्रका नगर इन्चार्ज, अध्यक्ष लगायत उपस्थित थिए ।
मेयर नेपाली कांग्रेसलाई र उपमेयरसहित ११ वटै वडामा १२ सदस्यसहित माओवादी केन्द्रले गठबन्धन गर्यो । तर माओवादी केन्द्रका धेरै नेताहरूलाई यस् निर्णय मन परिरहेको थिएन ।
आफू उठ्न चाहेको पद गठबन्धनको नाममा कांग्रेसको भागमा परेपछि माओवादी केन्द्रका केहि नेताहरु पार्टीभित्र रुष्ट भए र गठबन्धनको निर्णय गर्ने आफ्ना नेताहरुलाई नछोड्नेु योजना बनाए । तत्अनुसार उमेदवारी मनोनयन गर्ने दोस्रो दिन (बैशाख १२ गते) माओवादी केन्द्र बराहक्षेत्र नगर कमिटीको पार्टी कार्यालयमा ती नेताले नरेन्द्र बस्नेतमाथी हातपातको कोसिस गरे । तर पार्टीका अन्य नेताहरुले छुट्याए ।
पहिलो प्रयासमा केहि गर्न नसकेपछि आफ्नो रिस पोख्न ती नेताहरुले सोही दिनको राती १० बजे बराहक्षेत्र नगरपालिकाको कार्यालय, चक्रघट्टीमा एकान्तमा बोलाए तर म गइँन, नत्र खै के हुन्थ्यो होला, बस्नेतले भनें । तर उनीहरूले आफूलाई सिध्याउने नै कोसिस गरेको बस्नेतको बुझाइ छ ।
तपाईंलाई नै चाहिँ किन आक्रमणको कोसिस गरियो भन्ने प्रश्नमा उनी भन्छन्, -कांग्रेससँगको गठबन्धन गर्नेमा मूख्य भूमिका मेरो थियो भन्ने ती आक्रमण गर्ने नेताहरुको बुझाइ रहेछ, तब आफू उठ्न पाएनन् र, हत्या गर्ने कोसिस गरे । बस्नेत पार्टीभित्र इमानदार र सक्षम नेताको छवि बनाएका नेता हुन् ।