इटहरीः चिकित्सा शिक्षानै नलिएका र नेपाल मेडिकल काउन्सिलबाट इजाजत समेत नलिई क्लिनिक सञ्चालन गरेको भन्दै प्रहरीले मोरङ्गका दुई छुट्टाछुट्टै स्थानबाट २ जना नक्कली चिकित्सकलाई प्रहरीले पक्राउ गरेको छ ।

इजाजतपत्र नलिई मेडिकल क्लिनिक संचालन गरीरहेको भन्ने सुचना पाएपछि जिल्ला प्रहरी कार्यलय मोरङ्गबाट खटिएको टोलिले सोमबार २ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रदेश प्रहरी कार्यलय विराटनगरका अनुसार पक्राउ पर्नेमा पथरी शनिश्चरे नगरपालिका–१ मा रहेको श्री राम पायल्स क्लिनिकका सञ्चालक भारत दार्जिलिङ रानीगन्ज पानसालीका २७ वर्षीय पर्सनजित बर्मन र सुन्दरहरैचा नगरपालिका–३ गछिया चौकमा रहेको कल्पना आयुर्वेदिक क्लिनिकका सञ्चालक भारत दार्जिलिङ देवीगन्ज ग्रामपञ्चायतका २९ वर्षीय सनोड मण्डल रहेका छन् ।

उनिहरुले चिकित्सा शिक्षा सम्बन्धी शैक्षिक योग्यता प्राप्त नगरेका र कानुन बमोजिम नेपाल मेडिकल काउन्सिलबाट उपचार गर्नको लागि इजाजत पत्र समेत नपाएको प्रहरीको भनाई छ ।

उनीहरूले विगत केही समय देखी आफू चिकित्सक भएको बताउँदै अवैध रूपमा क्लिनिक सञ्चालन गर्दे आएका थिए । प्रहरीले उपचारमा प्रयोग गरिएको सामाग्री सहित पक्राउ गरेको छ ।

नक्कली डाक्टरहरुलाई मेडिकल काउन्सिलसँग समन्वय गरी इलाज सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको बताइएको छ ।