बराहक्षेत्रः सुनसरीको बराहक्षेत्र नगरपालिकामा नेकपा एमालेबाट राजु अधिकारीले मेयर पदमा उम्मेद्बारी मनोनयन दर्ता गराएका छन् । नेकपा एमाले बराहक्षेत्रभित्र निलम खनाल प्रवित्ती हावी भएको आरोप लगाउँदै उनले मनोनयन गराएका हुन् ।

उनले भनेका छन्, निलम खनाल मेयर रहेको यस् बराहक्षेत्र नगरपालिकाले पाँच वर्षीय अबधिमा गरेका अनियमितता, भ्रष्टाचार र बिसंगतीको विरुद्धमा मेरो शसक्त उम्मेद्बारी हो । आफू मेयर पदको लागि शसक्त उमेदवार भएपनि पार्टीले अनेकन तिकडम र षड्यन्त्र गरि आफ्नो नाम हटाइएको उनको गुनासो छ ।

स्वतन्त्र उम्मेद्बारी मनोनयन पश्चात् सञ्चारकर्मीसँगको कुराकानीमा उनले नगरभरिबाट आफ्नो पक्षमा सहयोग र साथ सुरु भइसकेको बताएका थिए । जित्ने दौडमा हिडेको मान्छेले उम्मेद्बारी फिर्ता लिने कुरै हुँदैन्, उनले भनें । आफ्नो एजेन्डाबारे प्रष्ट पार्दै उनले निलम खनाल कार्याकालको नगरपालिका कार्यपालिकाले भ्रष्टाचारको चाङ्हरु थुपारेको र आफूले भ्रष्टाचारलाई निमिट्यान्न पार्नेमा जोड दिए ।

उनी बराहक्षेत्र ५ का बहालवाला अध्यक्ष पनि हुन् । यस्अघि उनले पार्टीभित्र संयन्त्रमा आफू योग्य हुँदाहुँदै पनि समावेस नगरेको भन्दै तत्कालीन नेकपाबाट राजीनामा दिएका थिए भने अर्कोपटक नगरसभामा निलम खनाल हाबी भएको भन्दै नगरसभा समेत बहिष्कार गरेका थिए ।

पार्टीभित्र क्रान्तिकारी छवि बनाएका अधिकारीले नगरसभा बहिष्कार गर्दै उनले तत्कालीन मेयर निलम खनालले आफ्नो चाकडी गर्नेलाई मात्र बजेट दिएको, वडाको अधिकारी केन्द्रीकृत गर्न खोजेको, आफ्ना नातेदारलाई मात्र जागिर दिने गरेको लगायतका आरोपहरु लगाएका थिए ।


यता बहालवाला मेयर निलम खनालले पार्टीको टिकट लिएर पुनः मेयरमा उम्मेद्बारी मनोनयन गराएका छन् । पार्टीभित्रको चरम असन्तुष्टि र विरोध हुँदाहुँदै पनि उनले टिकट प्राप्त गरेको नेताहरु बताउँछन् । गत स्थानीय चुनाव ०७४ मा भएको घोषणापत्रको दुईतिहाइ काम पूरा गर्न नसकेका खनाल यसपटक पुनः मेयर लड्नुले धेरै अर्थ राखेको अगुवाहरूको बुझाइ छ ।

आफ्नो कार्यकालमा अनियमितता, बेरुजु, विवाद र भ्रष्टाचारको खालहरु थुपार्ने खनालले यसपटक भने भ्रष्टाचारमुक्त नगर बनाउने मूख्य एजेन्डा बनाएका छन् । आफ्नो कार्यकालमा अधुरा रहेका योजनालाई पूरा गर्दै ५ वर्षभित्र इटहरी, धरान जस्तै शहरको रूपमा बराहक्षेत्रलाई बिकसित गर्ने उनको योजना रहेको छ ।