फिक्कलः इलामको सूर्योदय नगरपालिका–१३ लक्ष्मीपुरका मेहरमान आचार्य (तिर्थ) सरकारी जागिर छाडेर वडाध्यक्षको उम्मेदवारी दर्ता गराएका छन् । २० बर्ष ३ महिना आयुर्वेद स्वास्थ्यकर्मीको रुपमा कार्यभार सम्पन्न गरेर जनताको सेवाका लागि जनप्रतिनिधि बन्न होमिएका हुन् ।
मेची आयुुर्वेद औषधालय (अस्पताल) को अधिकृत तहका जागिरे उनी नेकपा माओवादी केन्द्र सूर्योदय नगरपालिकाका सचिव समेत हुन् । आचार्यलाई ४ दलीय गठबन्धनले वडाध्यक्षको रुपमा अघि सारेको हो । सूर्योदय नगरपालिकाको पछाडी पारिएको वडालाई स्थानीय जनप्रतिनिधिको रुपमा समृद्ध बनाउन उम्मेदवारी दिएको उनी बताउँछन् ।
‘बाहिर बसेर भन्दा जनप्रतिनिधिकै रुप छिन पाइयो भने सोचेका सपना पुरा गर्न सकिन्छ भन्ने धारणले उम्मेदवारी दिएको हुँ ।’ उनी भन्छन् ‘ नेपाल सरकारको अधिकृतको रुपमा २० बर्ष ३ महिना सेवा गर्दा त्यहाँ भोगेको अनुभव, काम र सिकाई जनप्रतिनिधिको रुपमा कसरी प्रयोग गर्न सकिन्छ भन्ने योजना बन्दै गर्दा राष्ट्रसेवकको रुपमा यहाँ भन्दा सिक्ने ठाउँ छैन् । मैले यहाँ गर्ने सेवा भन्दा त्यहाँ गर्ने सेवा बढी फाइदाकारक हून्छ भन्ने सोचाईले अधिकृतको जागिर छाडे ।’
उनी आफ्ना एजेन्डा सामान्य आम नागरिकको आवश्यकता पुरा गर्ने तर्फ नै रहेका बताउँछन् । आचार्य पटक पटक चुनावमा समृद्ध नेपाल सुखी नेपालीको नारा दलहरु अघि सारेपनि विस्तृत कार्ययोजना नहुँदा कार्यान्वयनमा समस्या रहेको सुनाउँछन् ।
‘अघिल्लो चुनावबाट सुखी नेपाली समृद्ध नेपाल भनेर सारै नारा लागे । सबैले कुरामा समृद्ध नेपाल भने तर समृद्धि कसरी ल्याउने भन्ने विस्तृत कार्ययोजना केही आएको छैन् । मेरो कार्य क्षमताले भ्याएसम्म समृद्ध नेपाल बनाउनका लागि वडा नंं १३ लक्ष्मीपुरका बासिन्दालाई कहिलै भोकै बस्नु नपरोस आफ्नै उत्पादनले आत्मनिर्भरता कसरी विकास हुन्छ भन्ने हो ।’
उनी आफ्नो मुख्य एजेन्डा लक्ष्मीपुरबासीको आत्मनिर्भरता नै रहेको बताए ‘मेरो एजेन्डा आत्मनिर्भरता नै हो । युवाहरुको लागि स्वरोजगारको व्यवस्था रोजगारी सृजना नगदेवालीको उत्पादन बढाउने नै हो । जनतालाई क्षमता अनुसारको व्यवसायको ढाँचा दिने त्यबाट लक्ष्मीपुर र नगरलाई समृद्ध बनाउने नै हो ।’