इटहरीः नेतृत्वले उम्मेद्वारी चयनमा गलत निर्णय गरेको भन्दै नेपाली कांग्रेस इटहरी २ मा सभापति दिपेन्द्र घिमिरेले स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका छन् ।
नेपाली कांग्रेसले वडा सभापति घिमिरेलाई बाइकट गरेर राजु बस्नेतको नाम सिफारिस गरेपछि घिमिरेसहित वडाका अन्य कार्यकर्ताले बिरोध जनाएका थिए ।
घिमिरे अघिल्लो स्थानीय निर्वाचनमा पराजित भएका थिए । निर्वाचनमा पराजित भएपनि जनताको घरदैलोमा गएर सामाजिक काममा अग्रसर भएकाले उनि नै उम्मेद्वार बन्नु पर्ने र उम्मेद्वार बने आफुहरुले जिताएर पठाउने कार्यकर्ताको भावना रहेको नेपाली कांग्रेस वडा नम्बर २ का सदस्य राज दाहाल बताउँछन् ।
‘उहाँ अघिल्लो निर्वाचनमा पराजित भएपछि जनताको नजिक हुनुहुन्छ कोरोना कालमा राहत बाड्ने देखि लिएर वडाबासीलाई सामाजिक काममा सघाएको हुँदा सबैले रुचाएको व्यक्तिले टिकट नपाउँदा उहाँलाई सबैले हौसला दिएर स्वतन्त्र उम्मेद्वार बन्न भनेका हौँ ।’दाहालले प्रदेश पोर्टलसँग भने ।
पार्टीबाट सिफारिस भएका उम्मेद्वार राजु बस्नेतले एक जना महिला सदस्य र एक जना खुल्ला सदस्यको मात्रै उम्मेद्वारी दर्ता गराएका छन् । बस्नेतसँग वडा सदस्य बन्न सक्ने व्यक्तिहरुनै नभएको कार्यकर्ताहरुको दावी छ ।
पार्टीबाट टिकट नपाएता पनि स्थानीयको दवाव आएको भन्दै स्वतन्त्र उम्मेद्वारी दर्ता गराएको दिपेन्द्र घिमिरेले प्रदेश पोर्टललाई बताए । आफुले उम्मेद्वारी दिएपछि पार्टी नेतृत्वले अहिले सम्म कुनै प्रतिक्रिया नजनाएको घिमिरेको भनाई थियो ।
स्थानीयको दवाव भएको हुनाले आफुले उम्मेद्वारी फिर्ता नलिने र जितका लागि अग्रसर हुने उनले दावी गरे ।
पार्टीले जनभावनाको कदर नगरेको तर स्थानीयले तपाईको आवश्यक भएको भनेकोले आफुले उम्मेद्वारी दिएको घिमिरेको भनाई छ ।