इटहरीः सत्ता गठबन्धनमा रहेका पाँच दलको स्थानीय निर्वाचनमा गठबन्धन गरेर जाने निर्णयको विरुद्धमा इटहरीका स्थानीय तहका नेताहरुले आफ्नो–आफ्नो मनोनयन दर्ता गराएका छन् ।

इटहरीको मेयर र उप–मेयरमा सत्ता गठबन्धनभित्र निकै ठुलो रस्साकस्सी पछि नेपाली कांग्रेसले मेयर र नेकपा एकिकृत समाजवादीले उप–मेयरको भाग पाएको भएता पनि स्थानीय तहमा आफुहरुसँग छलफल नभएको भन्दै नेकपा माओवादी केन्द्रले मेयर र उपमेयरमा आफ्ना नेताहरुलाई उम्मेद्वारी मनोनयन गर्न लगाएको छ ।

सत्तागठबन्धनबाट मेयरको भाग पाएको नेपाली कांग्रेस र उपमेयरको भाग पाएको नेकपा एकिकृत समाजवादीले पनि भागमा परेको मेयर र उप–मेयर बाहेकका पदमा आफ्ना आफ्नै तरिकाले उम्मेद्वारी मनोनयन गराएका छन् । तर माओवादी केन्द्रले भने पार्टी केन्द्रबाट सहमति भएपछि टिकट नपाएको बताउँदै मेयर र उपमेयरमा स्वतन्त्रको नाममा उम्मेद्वारी दिएको छ ।

पार्टी केन्द्रले गठबन्धन गरेर जाने भन्दै टिकट नदिएको र गठबन्धनका दलविच पर्याप्त छलफल नगरे पछि इटहरीमा आफुहरुले स्वतन्ध उम्मेद्वार उठाएको नेकपा माओवादी केन्द्र इटहरी नगरकमिटीका अध्यक्ष ज्वालासिंह तामाङ्ग बताउँछन् ।

माओवादी केन्द्रले इटहरी उपमहानगरको मेयरमा भानु मैनाली र उप–मेयरमा सुशिला उप्रेतीको उम्मेद्वारी मनोनयन सोमबार दर्ता गराएको हो । मेयर र उप–मेयरसँगै वडाहरुमा पनि उम्मेद्वारी दिएको माओवादीले गठबन्धन विच पर्याप्त छलफल नहुँदा आफुहरुले उम्मेद्वारी दर्ता गराएको तामाङ्गको भनाई थियो ।

के अव माओवादी केन्द्र गठबन्धनबाट बाहिरिएको हो त ? भन्ने प्रदेश पोर्टलको प्रश्नमा माओवादीका नगरकमिटी अध्यक्ष तामाङ्गले सबै तहमा एकल उम्मेद्वारी दिएपछि बाहिरीएको भन्न सकिने जवाफ दिए यद्यपी आफुहरु गठबन्धनका दलहरुसँग छलफलकै क्रममा रहेकाले कुरा मिलेको खण्डमा उम्मेद्वारी फिर्ता लिन सकिने तामाङ्गले बताए ।
नेपाली कांग्रेसले मेयरको उम्मेद्वारी टुङ्गो लगाउन समय लगाएको हुँदा गठबन्धनमा कसरत गर्न समय अभाव भएको उनको आशय थियो ।

यता गठबन्धनको तर्फबाट मेयरको उम्मेद्वार बनेको नेपाली कांग्रेसका हेमकर्ण पौडेलले केन्द्रको निर्णय अनुसार वडा तहसम्म पनि सहमति गरेरै अगाडी बढ्ने बताएका छन् । यद्यपी कतिपय स्थानीय तहमा अवस्था र परिस्थीती अनुसार पाटीहरु एक्ला एक्लै पनि उम्मेद्वारी दिएर मित्रवत प्रतिस्पर्धा गर्न सक्ने पौडेलको भनाई थियो ।

यता नेकपा एकिकृत समाजवादी पार्टीका नगर इन्चार्ज केवल प्रसाद फुयाँलले नेपाली काग्रेसको मेयरको उम्मेद्वारी टुगाँउन समय लागेको हुँदा सत्ता गठबन्धनमा छलफल गर्न समय अपुग भएकाले दलहरुले आफ्नै तरिकाले उम्मेद्वारी दर्ता गराएको बताए । यद्यपि आजबाट वडा बाँडफाँडका विषयमा छलफल सुरु हुने र सहमतीका आधारमा अघि बढ्ने फुयाँलको विश्वास छ । हामीसँग अझै ३ दिनको समय छ सहमती गरेर उम्मेद्वारी फिर्ता लिएर इमान्दारिता पुर्वक सत्ता गठबन्धन अगाडी बढ्ने फुयाँलले प्रदेश पोर्टललाई बताए ।

उम्मेद्वारी नेकपा माओवादीबाट इटहरी वडा नम्बर २ मा वडा अध्यक्षको उम्मेद्वारी दर्ता गराएका सोम सुवेदीले पार्टीको परामर्शमा आफुले उम्मेद्वारी दिएकाले फिर्ता लिने कुरा नआउने बताउँछन् । उम्मेद्वारी मनोनयन गराएपछि जित्ने कसरत सुरु भएको सुवेदीको भनाई थियो ।

नेकपा एकिकृत समाजवादीको तर्फबाट इटहरी वडा नम्बर ४ को वडा अध्यक्षमा मनोनयन दर्ता गराएका रमेश खत्रीले आफ्नो पार्टीलाई सम्मानजनक भाग नपाएको खण्डमा उम्मेद्वारी फिर्ता नहुने अडान राखेका छन् । उनले नेकपा एमालेमा असन्तुष्ट पक्षले आफुलाई जिताउने भनाई अघि सारे ।