गाईघाटः त्रियुगा नगरपालिकाको मेयर पदमा बलदेव चौधरीले पुनः उम्मेद्वारी दिएका छन । त्रियुगा नगरपालिकाकाको निर्वतमान मेयर चौधरीले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मेयर पदमा मनोनयन गरेका हुन् । चौधरी नेकपा (एकीकृत समाजवादी) १ नम्बर प्रदेशका अध्यक्ष समेत हुन् ।
त्रियुगा नगरपालिका वडा नम्बर १ का नेकपा (एकीकृत समाजवादी)का प्रवक्ता विपिन आचार्यको प्रस्तावमा र सन्तोष चौधरीको समर्थनमा निवर्तमान मेयर चौधरीले उम्मेद्वारी दिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय उदयपुरले जनाएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयाका अनुसार त्रियुगा नगरपालिकामा दुई जना स्वतन्त्र र एकीकृत समाजवादीको एक जना गरि तीन जनाले मेयर पदमा उम्मेद्वारी दिएका छन् । त्रियुगा नगरपालिका १० का स्थानीय चित्र बहादुर कार्की र त्रियुगा नपा ८ का नारायण बहादुर खड्काले मेयरमा उम्मेद्वारी दिएका छन् । एमालेबाट खड्का २०५४ सालको स्थानीय तहको निर्वाचित वडाध्यक्ष हुन् ।
निर्वाचन कार्यक्रम अनुसार बैशाख ११ र १२ गते उम्मेद्वारहरुको मनोनयन दर्ता गर्ने तालिका छ । दुई दिन उम्मेद्वारी दर्ता गर्ने कार्यक्रम भएकाले पहिलो दिन राष्ट्रिय मान्यता प्राप्त दलबाट भने उम्मेद्वारी नपरेको जनाईएको छ ।