इटहरीः यहि बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्तामा रहेका ५ दलहरु बीच गठबन्धन गर्ने सहमति केन्द्रिय तहबाट गरिएपनि आज(सोमबार) भएको उम्मेद्वार मनोनयनमा नेपाली कांग्रेसले इटहरी उपमहानगरका २० वटै वडाहरुमा उम्मेद्वारी दर्ता गराएको छ । गठबन्धन गर्ने केन्द्रको निर्देशन अनुसार नै मेयरमा नेपाली कांग्रेसका हेमकर्ण पौडेल र उपमेयरमा नेकपा एकिकृत समाजवादीका केशबकुमार बिष्टले मनोनयन दर्ता गराएका छन् ।
नेपाली कांग्रेस इटहरी उपमहानगर समितिका अनुसार इटहरी उपमहानगरपालिका वडा नम्बर १ का कैलाश कार्की, वडा नं २ राजु बस्नेत, वडा नं ३ बालकृष्ण बिष्ट, वडा नं ४ विक्रम थापा, वडा नं. ५ जीवन न्यौपानेलाई सर्वसम्वत वडाअध्यक्षको उम्मेद्वारी बनाएको छ । वडा नम्बर २ मा भने कांग्रेसकै दीपेन्द्र घिमिरेले असन्तुष्टि जनाउँदै वडाअध्यक्षमा स्वतन्त्र उम्मेद्वारी दिएका छन् । वडा नम्बर ३ बाट अध्यक्षको उम्मेद्वार बनेका बिष्ट यसअघिको निर्वाचनमा निर्वाचित वडाअध्यक्ष हुन् ।
कांग्रेसले वडा नं. ६ दिवस पोखरेल, वडा नं ७ हेमनारायण चौधरी, वडा नं ८ रोहित चौधरी, वडा नं. ९ गोविन्द घिमिरे , वडा नं. १० प्रकाश चौधरी, वडा नं. ११ खड्गनारायण चौधरी, वडा नं. १२ हेमानन्द दाहाल, वडा नं. १३ चन्देश्वर सरदार र वडा नं १४ राकेश चौधरीलाई वडाअध्यक्षका रुपमा उम्मेद्वारी मनोनयन दर्ता गराएको नेपाली कांग्रेस प्रदेश नम्बर १ का सदस्य सूर्य राईले जानकारी दिएका छन् ।
वडाअध्यक्ष मध्येका वडा नम्बर ६ पोख्रेल उद्योग वाणिज्य संघ इटहरीका वरिष्ठ उपाध्यक्ष हुन् । वडा नम्बर ८ का चौधरी यसअघि भएको निर्वाचन निर्वाचित वडाअध्यक्ष हुन् । वडा नम्बर १२ का दाहाल पनि निर्वाचित वडाअध्यक्ष नै हुन् । वडा नम्बर ९ का वडाअध्यक्षमा उम्मेद्वारी दिने घिमिरे नेपाल पत्रकार महासंघ सुनसरी पूर्व अध्यक्ष हुन् ।
नेपाली कांग्रेस इटहरी उपमहानगरले यसअघिको निर्वाचनमा निर्वाचित १५ नम्बर वडाका अध्यक्ष श्रवण चौधरी, वडा नं १६ दीपनारायण चौधरी, वडा नं १७ का भगवानलाल साहलाई पुनः वडा अध्यक्ष पदमै उम्मेद्वारी मनोनयन दर्ता गराएको छ ।
कांग्रेसले वडा नं१८ रामबाबु आचार्य, वडा नं. १९ दुर्गाप्रसाद पौडेल र वडा नं.२० मणिराम श्रेष्ठलाई वडाअध्यक्षमा मनोनयन दर्ता गराएको छ । वडा नम्बर २० का श्रेष्ठ ५ बर्षअघिको निर्वाचनमा निर्वाचित वडाअध्यक्ष हुन् ।
इटहरी उपमहानगरका नगर सभापति समेत रहेका गठबन्धनका तर्फबाट मेयर पदमा उम्मेद्वार बनेका हेमकर्ण पौडेलले पार्टीको निर्देशन अनुसार देशभरी नै गठबन्धन नै गरेर निर्वाचनमा जाने भएपनि कतिपय स्थानीय तहमा अवस्था र परिस्थिती अनुसार पार्टीहरुले एक्ला एक्लै पनि उम्मेद्वारी दर्ता गराएर जनतामाझ जान सक्ने बताए ।
नेकपा एस इटहरीका नगर इन्र्चाज केबल फुर्यलले गठबन्धन नै गरेर निर्वाचनमा जाने बताए । कांग्रेसले इटहरीमा मेयरको टिकट दिने बिषयमा धेरै समय लगाएकाले इटहरीका २० वटा वडा बाँडफाँडका बिषयमा इटहरीका गठबन्धन भित्र रहेका दलहरु बीच छलफल गर्ने समय अपुग भएकाले गठबन्धनमा रहेका सबै दलहरुले आ आफ्नो हिसाबले सबै वडा र पदहरुमा मनोनयन दर्ता गराएको बताए । उनले भने –‘अब भोली( मंगलबार)बाट वडा बाँडफाँडका बिषयमा छलफल हुने र सहमतीका आधारमा अघि बढ्ने छौं । हाललाई उम्मेद्वारी दर्ता भएपनि सहमति पछि गठबन्धन भित्र रहेका दलहरुले इमान्दारिता पूर्वक मनोनयन फिर्ता हुनेमा म ढुक्क छु ।’