इटहरीः नेपाली कांग्रेस इटहरी उपमहानगरको मेयरमा आकांक्षी बनेका तीनै जना अनुहार सोमबार एकैसाथ थिए जतिवेला मेयरमा टिकट पाएका हेमकर्ण पौडेलको उम्मेद्वारी मनोनयन हुँदै थियो ।

मेयरको टिकट पाउने अपेक्षामा रहेका तीनै जनामा हेमकर्ण पौडेलले टिकट पाएपछि भित्री रुपमा जे भएपनि बाहिरी रुपमा तीनै जना संगै उम्मेद्वारी मनोनयनमा सहभागि भएर एकताको सन्देश दिए । हेमकर्णले उम्मेद्वारी दिइरहँदा भिम पौडेल प्रस्तावक बने भने रोहित प्रसाईले उनलाई समर्थन गरेर समर्थक बनेका थिए ।

अघिल्लो स्थानीय निर्वाचनमा मेयरको टिकट पाएता पनि २ हजार ७ सय मतले हार व्यहोरेका प्रसाई यसपाला पनि आफ्नो टिकट हुनेमा लगभग पक्का थिए तर प्रदेश, केन्द्र गर्दै लामो रस्साकस्सी पछि उम्मेद्वारको टिकट हेमकर्णको पासमा पुग्यो तर पनि गठबन्धनलाई जिताउनु पर्छ भनेर उम्मेद्धवारको समर्थक बन्दै प्रसाईले समेत एकताको सन्देश दिएका छन् ।

सोमबार बिहानभर केन्द्रीय नेताहरूको उपस्थितिमा विराटनगरमा भएको भेलाले पार्टीको नगर सभापति समेत रहेका हेमकर्णलाई मेयरका टिकट दिने निर्णय गरेको थियो ।

इटहरी ४ का पौडेल र इटहरी ६ का प्रसाईँले हेमकर्णलाई मेयरमा प्रस्तावक र समर्थन गरेका हुन् ।यसअघि पनि धेरैजसो मञ्चहरूमा उनीहरूले आफूहरु एकै रहेको बताउँदै आएका थिए ।

२०५४ सालमा जनता क्याम्पसको स्ववियु सभापति हुँदै राजनीतिक यात्रालाई निरन्तरता दिएका पौडेलको अहिले कांग्रेस इटहरी नगरसभापति भएको तेस्रो कार्यकाल हो ।

आगामी बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा इटहरीमा गठबन्धनबाट नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रिय सदस्य केशवकुमार विष्टले गठबन्धनको तर्फबाट उपमेयरमा उम्मेद्धवारी मनोनयन गराएका छन् ।