इटहरीः सत्ता गठबन्धनमा सहमति पछि इटहरी उपमहानगरपालिकाको स्थानीय चुनावका लागि मेयरका उम्मेद्धवार नेपाली कांग्रेसका हेमकर्ण पौडेल र उपमेयरका उम्मेद्धवार नेकपा एकिकृत समाजवादीका केशव कुमार विष्ट गठबन्धनमा आवद्ध चारै पार्टी एकै साथ सहित तामझाँमका साथ नगरपालिका पुगेर आ–आफ्नो उम्मेद्धवारी मनोनयन दर्ता गराएका छन् ।
आ–आफ्नो पार्टी कार्यलयबाट कार्यकर्ताको तामझाँम सहित इटहरी चोक पश्चिम लाइनमा भेट भएका दुवै उम्मेद्धवारहरु सयौँ कार्यकर्ताको साथमा नगरपरिसरमा प्रवेश गरेका थिए ।
आफ्नो उम्मेद्धवारी मनोनयन गराउनु अघि संचारकर्मीसँग बोल्दै गठबन्धनका तर्फबाट मेयरका उम्मेद्धवार हेमकर्ण पौडेलले देश असफलताको बाटोमा जान लागेको बेला एउटा विशिष्ट परिस्थितीमा गठबन्धन भएको बताउँदै गठबन्धन समृद्धिको बाटोमा देशलाई लैजाने र भएकाले गठबन्धनले जित निकाल्ने दावी गरका छन् ।
बर्षौँ देखि एउटा पार्टीले जितेर इटहरीका जनताले हारिरहेको अवस्थता रहेकाले यहाँका प्रत्येक नागरिकलाई जिताउन यसपाली गठबन्धनले जित हासिल गर्ने पौडेलले बताए ।
सत्ता गठबन्धनको तर्फबाट उपमेयरको उम्मेद्धवारी मनोनयन गर्न आएका नेकपा एकिकृत समाजवादीका उम्मेद्धवार केशव कुमार बिष्टले विगतका उम्मेद्धवारहरुले विगतमा जागिर खाने र जानेमात्रै काम गरेको बताए । चाँडै इटहरीलाई महानगरको रुपमा विकास गर्ने व्यवस्थित सहर बनाउने यसलाई समृद्ध बनाउने र उत्कृष्ट शहरको रुपमा विकास गर्ने आफुहरुको उदेश्य रहेको बिष्टको भनाई थियो ।
यता नेकपा एमालेका मेयर पदका उम्मेद्धवार याम कुमार सुव्वा र संगीता चौधरीले पनि आफ्ना उम्मेद्धवारी मनोनयन गराएका छन् । आफ्नो पार्टीको जनाधार राम्रो भएकाले आफ्नो पार्टीले जित निकाल्ने नेकपा एमालेका मेयरका उम्मेद्धवार याम कुमार सुव्वाले बताए ।
मनोनयन दर्ता गरिने अन्तिम दिन भएका कारण आफ्नो आफ्नो उम्मेद्धवारी मनोनयन गर्न पार्टीहरु र स्वतन्त्र उम्मेद्धवारहरुको निकै ठुलो भिडलाई नियन्त्रण गर्न म्यादी, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई निकै हम्मेहम्मे परेको थियो ।
नेपाली कांग्रेसले ढिला गरी उम्मेद्धवारको टुङ्गो लगाएका कारण २ बजे गर्ने भनिएको मनोनयन झण्डै साँढे चार बजेमात्र सम्भव भएको थियो । त्यतिवेला पनि उनिहरुले आफ्नो आफ्नो फायल बुझाउन मात्रै भ्याए भने दर्ताको काम निर्वाचन अधिकृतको कार्यलयले गर्न निकै समय लाग्ने बताइएको छ ।