इटहरीः इटहरी उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका तर्फबाट हेमकर्ण पौडेलले उम्मेद्धवारी दिने पक्का भएको छ ।
उम्मेद्धवारी टुगाउँन नेपाली कांग्रेसको लामो रस्सा कस्सी पछि मनोनयन दर्ताको अन्तिम संघारमा आएर पार्टीले हेमकर्ण पौडेलको नाममा टिकट दिने पक्का भएको हो ।
कहिले रोहित प्रसाई त कहिले भिम बहादुर पौडेलको नाम चर्चामा ल्याउँदै गरेका पार्टीका कार्यकर्ताले अन्तत नगरकमिटीकै सभापति हेमकर्ण पौडेललाई मेयरको उम्मेद्धवारको रुपमा पाएका छन् । युवामाझ निकै लोकप्रिय रहेका पौडेल नेपाली कांग्रेस इटहरी उपमहानगर समितिको सभापति हुन् ।
अघिल्लो स्थानीय निर्वाचनमा समेत हेमकर्ण पौडेलको नाम आउने प्रतिक्षा गरिएको भएपनि त्यो सम्भव भएको थिएन । पछि प्रदेशमा नेकपा एमालेका सर्वध्वज साँवासँग प्रतिस्पर्धा गरेका पौडेलले पराजय भोगेका थिए । पौडेल पाँच दलिय सत्ता गठबन्धनको तर्फबाट साँझा मेयरका उम्मेद्धवार हुन् ।
केन्द्रले टुँगाएको भागबण्डामा नेपाली कांग्रेसले इटहरी उपमहानगरको मेयरको भाग पाएको थियो भने उपमेयर सत्ता गठबन्धनको तर्फबाट नेकपा एकिकृत समाजवादीको भागमा परेको थियो ।
नेकपा एकिकृत समाजवादीले सोमबार बिहानै पार्टीका केन्द्रिय सदस्य केशव कुमार विष्टको नाम उपमयेरमा सिफारिस गरिसेको छ । सत्तागठबन्धनका दुवै उम्मेद्धवारहरुको उम्मेद्धवारी मनोनयन सोमबारनै निर्वाचन अधिकृतको कार्यलय इटहरीमा हुने कार्यक्रम छ ।