इटहरी :आसन्न स्थानीय निर्वाचनका लागि मनोनयन दर्ताको पहिलो दिन सोमबार तीन बजेसम्म ४ वटा पार्टी र २ स्वतन्त्र उम्मेद्धवारले आफ्नो मनोनयन दर्ता गराएका छन् ।
निर्वाचन अधिकृतको कार्यलय इटहरीले दिएको जानकारी अनुसार इटहरी उपमहानगरको मेयरमा नागरिक उन्मुक्ति पार्टी, खम्बुवान राष्ट्रिय मोर्चा, मंगोल अर्गनाइजेसन र मोलिक जरोकिलो पार्टीले उम्मेद्धवारी मनोनयन गराएका हुन ।
जसमध्ये तीन पार्टीले मेयरको मनोनयन गराएका छन् भने एक पार्टीले उपमेयरको मनोनयन गराएको छ ।
नागरिक उन्मुक्ति पार्टीले अक्षय कुमार चौधरीलाई मेयरको उम्मेद्धवारी मनोनयन गरेको छ भने खम्बुवान राष्ट्रिय मार्चाले देशमाया राईलाई मेयरको उम्मेद्धवार बनाएको छ ।
उता मंगोल अर्गनाइजेसनले दिपेन्द्र राईलाई मेयरमा मनोनयन गराएको छ भने मौलिक जरोकिलो पार्टीले शर्मिला बराललाई उपमेयरको मनोनयन गराएको छ ।
दिउँसो ३ बजेसम्म २ जनाले वडा अध्यक्षमा स्वतन्त्र उम्मेद्धवारी दर्ता गराएका छन् । जसमा इटहरी उपमहानगरको वडा नम्बर ७ को लागि रमाकान्त चौधरीले वडा अध्यक्षमा स्वतन्त्र उम्मेद्धवारी मनोनयन गराएका छन भने खडानन्द दाहालले इटहरी वडा नम्बर १० मा वडा अध्यक्षको लागि स्वतन्त्र उम्मेद्धवारी मनोनयन गराएका छन् । ठुला पार्टीहरुको उम्मेद्धवार नै पक्का भईनसकेका कारण दर्ता गराउन आएका छ्रैनन् । सोमबार ३ बजे नै मेयरका स्वतन्त्र उम्मेद्धवार पदम अधिकारीको उम्मेद्धवारी मनोनयन गर्ने कार्यक्रम रहेको बताइएको छ ।