इनरुवाः सत्तारुढ गठबन्धनमा रहेको नेकपा एकीकृत समाजवादीले सुनसरी सदरमुकाम इनरुवा नगरपालिकाको मेयरमा आफ्नो तीन नेताको नाम सिफारिस गरेको छ ।
चुनावी तालमेलको विषयमा नेपाली कांग्रेस अनिच्छुक बन्दै गएपछि नेकपा एसको इनरुवा नगर कमिटीले शुक्रवार तीन जना मेयर पदका आकांक्षीको नाम जिल्ला कमिटीलाई सिफारिस गरेको हो ।
इनरुवाको मेयरमा समाजवादी प्रेस संगठनका केन्द्रीय उपाध्यक्ष रहेका पत्रकार विश्वमणी सुवेदी, प्रदेश १ कमिटी सदस्य तिर्थ अधिकारी र जिल्ला सचिव बसन्त सुवेदीको नाम सिफारिस गरेको हो ।
नगर कमिटीले मेयर बाहेक अन्य पदमा कसैको पनि नाम सिफारिस गरेको छैन । उपमेयर र वडाध्यक्ष पद खाली राखेर मेयरको नाम मात्रै सिफारिस गरेको पार्टीका सुनसरी अध्यक्ष गोविन्द निरौलाले जानकारी दिए ।
सो पाटीले गठबन्धन भएको अवस्थामा इनरुवा नगरपालिकामा वडा मात्रै लिने योजना बनाएको छ । जसमा उसले विगतमा नेकपा एमालेले जितेको र आफ्नो संगठन पनि राम्रो भएको इनरुवा वडा नम्बर ३, ५ र ६ मा वडाध्यक्षको दावी गरेको छ । तर कांग्रेस सो विषयमा सकारात्मक नभएको स्रोतले बताएको छ ।
पार्टीका इनरुवा नगर कमिटी अध्यक्ष सुवास राईले कांग्रेसले गठबन्धनको छलफलमा आलटाल गरेकोले मेयरको पदका आकांक्षीहरुको नाम सिफारिस गरेको जानकारी दिदै वडाध्यक्ष र सदस्यहरुमा वडा कमिटीले नै नाम जिल्ला कमिटीमा सिफारिस गरिरहेको बताए ।