इटहरीः आसन्न स्थानीय तहको निर्वाचनमा उम्मेद्धवारी दिनका लागि धरान उपमहानगरका ४ जना वडा अध्यक्ष सहित १४ जना जनप्रतिनिधिले पदबाट राजिनामा दिएका छन् ।

निर्वाचन आयोगले जारी गरेको आचारसंहिता बमोजिम निर्वाचनमा उम्मेद्धवार बन्नका लागि राजिनामा दिनै पर्ने भएपछि उनिहरुको राजिनामा आएको हो ।

शनिवार मध्याह्न १२ बजेसम्म ४ जना वडाअध्यक्षसहित १४ जना जनप्रतिनिधिहरुले राजिनामा दिइसकेका हुन
हालसम्म धरानको वडा नं ५ का अध्यक्ष सन्तोष लिम्बु, वडा नं ७ का अध्यक्ष जीवन सुवेदी, वडा नं १३ का अध्यक्ष नेत्र काफ्ले, वडा नं १४ का अध्यक्ष कृष्णप्रसाद भटट्राई र वडा नं १७ का अध्यक्ष सुर्यबहादुर भटट्राईले राजिनामा दिइसकेका छन् ।

लिम्बु, काफ्ले, सुवेदी र भट्टराई पुनः वडाअध्यक्षमा उम्मेदवारी दिने तयारीमा छन भने वडा १७ का अध्यक्ष भट्टराई माओवादी केन्द्रबाट उपमेयरको पनि आकांक्षी रहेको बताइएको छ । गठबन्धनबाट माओवादिले धरान उपमहानगरमा उपमेयरको भाग पाएको छ । उनी उपमेयरमा सिफारिशमा नपरे पुनः वडाअध्यक्षमा उम्मेदवारी दिने दाउमा रहेको स्रोत बताउँछ ।

यस्तै, दलित महिला सदस्य अरुणा सुन्दास, वडा सदस्यहरु सम्सेर वर्देवा र कृष्णबहादुर राईले पनि राजिनामा दिएका छन । सुन्दास वडा नम्बर १० की दलित महिला सदस्य हुन भने वडा नं ६ का वडासदस्य हरिबहादुर राई, वडा १३ की दलित महिला उर्मिला परियार, वडा ७ की दलित महिला कुमारी बिक, वडा ९ का सदस्य शरदरत्न पार्थिव, वडा १३ का सदस्य सन्तोष राई र वडा ४ का सदस्य गोरसमान गुरुंगले पनि राजिनामा दिइसकेका छन् ।

राजिनामा दिएका जनप्रतिनिधिहरुको निवेदन दर्ता भएपछि निस्सा प्रदान गरिएको धरान उपमहानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मी प्रसाद पौडेलले जानकारी दिए । राजिनामा दिएको निस्सा नभई मनोनयन दर्ता नहुने भएकाले प्रमाण स्वरुप निस्सा प्रदान गरिने पौडेलको भनाई छ । उपमहानगरले शनिवार पनि कार्यलय खोलेर राजिनामा लिने काम गरिहेको छ ।