बराहक्षेत्रः बिहीबार नेकपा एमाले बराहक्षेत्र ६ का अध्यक्ष घनश्याम पौडेलले राजीनामा दिए । सामाजिक सञ्जाल फेसबुकमा जारी गरेको उनको राजीनामा पत्रको भाव थियो– ‘पार्टी बिधिसंगत चल्न सकेन र,पुँजीपतिहरुको हाबी भयो ।’
एकपछी अर्को असन्तुष्टि झेलिरहेको एमाले बराहक्षेत्रमा
आज (शुक्रबार) नेता श्याम भण्डारीले वडा नम्बर ८ बाट अध्यक्षमा आफू स्वतन्त्र उमेदवार उठ्ने बताए । भण्डारी नेकपा एमालेको गत जिल्ला अधिवेशनमा सदस्यमा उम्मेद्बारी दिएर पराजित भएका नेता हुन् ।
यसबीचमा अघिल्लो पुस्ता मात्रै होईन् । एमाले बराहक्षेत्रभित्र रहेका पछिल्लो पुस्ताहरुले समेत आफूलाई पदमा नबस्ने बताएका छन् । अनेरास्ववियु बराहक्षेत्र नगर कमिटीका सचिव सुजन बस्नेतले आफू कुनै पनि पार्टी र संगठनमा नरहने बताए ।
त्यस्तै, अनेरास्ववियु सप्तकोशी बहुमुखी क्याम्पस बराहक्षेत्रका अध्यक्ष सुरज भट्टराईले समेत पार्टीभित्रको असन्तुष्टी व्यक्त गरेका छन् । अनेरास्ववियु सुनसरी जिल्ला कमिटीको गत अधिवेशनले भट्टराईलाई जिल्ला कार्यालय सचिवमा चयन गरेपछि उनी रुष्ट भएका हुन् । उनले फेसबुकमा लेखेका छन्, ‘म सुरज भट्टराई अनेरास्ववियु सुनसरी जिल्ला कमिटीको कुनै पनि पदमा नरहेको जानकारी गराउँदछु । मेरो नाम तत्काल यो लिस्टबाट हटाइयोस् ।’
किन यसरी बिरक्तिदैछन्, नेताहरु ?
बराहक्षेत्र ६ वडा कमिटीका अधक्ष्य घनश्याम पौडेलले प्रष्टसँग भनेका छन् ‘एमाले गरिब,दुखी र सर्वहाराको पार्टी भन्नू धिक्कार रहेछ, यो त पुँजीवालाको पार्टी रहेछ ।’उनको भनाइअनुसार पार्टीको नगर कमिटीले वडा नम्बर ६ अध्यक्षको उमेदवार चयन गर्दा बिधान र बिधिसंगत निर्णय नगरेको हो ।
वडा कमिटीले आउँदो स्थानीय तहको चुनावका लागि ३ जनाको नाम अध्यक्ष पदमा नगर कमिटीलाई सिफारिस गरेको थियो । तर नगर कमिटीले सिफारिस गरिएका भन्दा अलग व्यक्तिलाई टपक्क टिपेर अध्यक्षको रूपमा अघि सारेपछी पार्टीले विधि र बिधानलाई कुल्चेको अध्यक्ष पौडेलको आरोप छ ।
यता श्याम भण्डारीले भने बिकृती र बिसंगतीको विरुद्ध सभ्य समाज निर्माणको लागि भन्दै ८ नम्बर अध्यक्षमा स्वतन्त्र उमेदवारी दिने बताएका छन् । पार्टीभित्र यतिधेरै कार्यकर्ताहरु किन असन्तुष्ट छन् भन्ने प्रदेश पोर्टलकर्मीको प्रश्नमा बराहक्षेत्र नगर अध्यक्ष गजेन्द्र थापाले पार्टीको आन्तरिक कुरा मात्रै भएको प्रतिक्रिया दिएका छन् ।