इनरुवाः इनरुवा नगरपालिकाको मेयर, उपमेयरका लागि नेपाली कांग्रेस र नेकपा एमालेले उम्मेदवारको अन्तिम टुड्डो लागेको घोषणा वैशाख १० गतेमात्र गर्ने भएको छ ।

इनरुवा नगरपालिकाको मेयर, उपमेयरका लागि कांग्रेस र एमालेका तर्फबाट आकांक्षीहरु मध्ये दुईजना दावेदारबाट एकजनाको नाममा निर्णय भएको घोषणा प्रदेश कमिटीबाट शनिवार साझसम्म गर्ने तयारी भएको हो ।

नेपाली कांग्रेसका एक नेताका अनुसार इनरुवा नगरपालिकाको मेयरमा वर्तमान मेयर राजन मेहता र जिल्ला सभापति केदार भण्डारी बिच अन्तिम चरणको प्रतिष्पर्घा भएकाले केन्द्रीय नेताहरुको निर्देशन बमोजिम प्रदेश कार्य समितीले शनिवार एकजनाको नाम घोषणा गर्ने भएको हो ।वर्तमान मेयर राजन मेहताले आउदो निर्वाचनमा आफ्नो उम्मेदवारी पक्का पक्की भएको दावी गरेका छन ।

मेयर मेहतालाई संस्थापन पक्षका केन्द्रीय सदस्य तथा संचार तथा सुचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की, अर्का केन्द्रीय सदस्य तथा प्रदेश एकका संसदीय दलका नेता राजिव कोइराला, प्रतिनिधिसभा सासंद सिताराम मेहता, मेयरका दावेदार संजय श्रेष्ठलगायतको समर्थन रहेको बताइन्छ ।

कांग्रेसले सन्तुलन मिलाउनका लागि मेयर मेहतालाई पुनः यस पटक उम्मेदवार बनाउने तयारी गरेको संस्थापन पक्षका एक नेताले बताए ।यसैगरि नेपाली कांग्रेसका सुनसरी सभापति केदार भण्डारीले आफुलाई पार्टीले इनरुवाको मेयरका लागि टिकट दिनेमा विश्वस्त रहेको दावी गरेका छन । भण्डारी कांग्रेसका नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, प्रदेश सभापति उद्धव थापाको समर्थनमा उम्मेदवार बन्ने बताइन्छ ।

नेपाली कांग्रेसले उपमेयरका दावेदार धेरैजना भएकाले अघिल्लो निर्वाचनको स्थापित मान्यतालाई आधार बनाएर जातीय सन्तुलन मिलाउँदै मतदाताका बिचमा लोकप्रिय रहेको र संगठनमा योगदान दिएको उम्मेदवारलाई उम्मेदवार बनाउने भएको छ ।

इनरुवाको मेयर उपमेयरको सिफारिसमा जिल्ला कमिटीले छलफल गरेर शुक्रवारसम्म प्रदेश कमिटीलाई सिफारिस गर्ने र शुक्रवार–शनिवार बैठक बसेर अन्तिम निर्णय गर्ने तयारी गरेको छ ।

यसैगरि नेकपा एमालेका तर्फबाट मेयरका दावेदार रहेकाहरु मध्ये अन्तिम चरणको प्रतिष्पर्घामा पूर्वमेयर खेमराज पोखरेल र युवा नेता सरोज पोखरेल रहेकाले दुईमध्ये एकजनाको नाम शनिवारसम्म प्रदेश कमिटीले घोषणा गर्ने तयारी गरेको छ ।

मेयरका आकांक्षी खेमराज पोखरेलले पार्टीमा दिएको योगदानको आधारमा आफुले चुनावी मोर्चाको नेतृत्व गर्नेगरि यसपटक मेयर पदको उम्मेदवारको टिकट पाउनेमा ढुक्क रहेको दावी गरेका छन ।

सवैतर्फबाट उम्मेदवार कसलाई बनाउने भन्ने मोटामोटी प्रक्रिया सकिएकाले प्रदेश कमिटीले उपमहानगरपालिकाको वडा तहको उम्मेदवारको नाम टुड्डो लगाउने बित्तिकै पालिकाका मेयर उपमेयरको नाम घोषणा गर्ने बताए ।

अर्का दावेदार युवा नेता सरोज पोखरेलले यसपटक पार्टीका वडादेखि केन्द्र तहसम्मका नेता कार्यकर्ता र मतदाताले नयाँ अनुहारका नयाँ पुस्ताका उम्मेदवारलाई चुनावी मैदानमा लैजाने नीति लिएकाले यसपटक आफुले उम्मेदवारको टिकट पाउनेमा निश्चित रहेको बताए ।

पोखरेलले सवै क्षेत्रबाट आफुलाई जित्ने गरि चुनावमा लाग्न निर्देशन र सल्लाह सुझाव प्राप्त भएकाले पार्टीले मेयरको उम्मेदवार बनाएर संसदीय मोर्चामा चुनावी मैदानमा टिकट दिएर पठाउने सूचनाहरु प्राप्त भएकाले उम्मेदवार आफु भएको दावी गरे ।

एमालेले उपमेयरमा भने जातीय सन्तुलन मिलाउने गरी उम्मेदवार तय गर्ने रणनीति लिएको छ । उसले पहाडी समूदायबाट मेयरको उम्मेदवार बनाउने अवस्थामा मधेसी समुदायबाट उपमेयर बनाउने पक्का पक्की रहेको एक नेताले बताए ।

एमालेको जिल्ला कमिटीले आकांक्षीहरुको नामको सिफारिस प्रदेश कमिटीलाई गरिसकेको छ । बिहीबार अवेरसम्म पहाडि जिल्लाको टुङ्गो लगाएर सुनसरी, मोरङ, झापा र उदयपुरको विषयमा शुक्रवार बसेर अन्तिम निर्णय गर्ने तयारीमा एमाले छ ।