धनकुटाः धनकुटा नेकपा एमालेले ७७ जिल्ला मध्येकै सबैभन बलियो जिल्ला मान्दै आएको छ । २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा सातै वटै पालिका जितेर राजनीतिक रुपमा क्लीन स्वीप गरेको जिल्लाको रुपमा कहलिएको धनकुटा एमालेमा यतिबेला ठूलो खैलाबैला मच्चिएको छ ।

धनकुटामा सत्ता गठबन्धन दलहरु एकजुट भइरहेका बेला एमालेका नेतृत्वहरुले आफु निकटका व्यक्तिलाई मात्रै टिकट दिएपछि एमालेभित्र निक्कै हलचल मच्चिएको छ । खासगरी एमालेको जिल्लामा पालिका स्तरमा नेतृत्वको लागि नेता विषेशका मान्छेलाई टिकट दिइएको भन्दै साँगुरीगढी गाउँ कमिटीका इन्चार्जसहित ६५ जनाले विद्रोह गर्ने चेतावनी दिएका छन् ।

साँगुरीगढी गाउँ कमिटीका इन्चार्ज राईसहित ६५ जनाले बिहीबार विज्ञप्ती जारी गर्दै पार्टी नेतृत्वले विपक्षीले भन्दा तल्लो स्तरको व्यवहार गरिरहेकाले २ दिनभित्र पार्टीभित्रका षडयन्त्रकारीलाई कारवाही गर्न चेतावनी दिएका छन् ।

‘स्थानीय तहको उम्मेदवार चयनको सन्दर्भमा आफ्नै पार्टीका कामरेडहरुबाट प्रतिपक्षले गरिने व्यवहार भन्दा पनि बडो घिनलाग्दो, भत्र्सना योग्य, अकल्पनीय र अक्षम्य अनि डरलाग्दो षडयन्त्र गरिएकाले हाम्रो ध्यानाकर्षण भएको छ’ सो संयुक्त विज्ञप्तीमा भनिएको छ, ‘उक्त षडयन्त्रको बारेमा पार्टीबाट उचित छानबिन गरी मिति ०७९ बैशाख १० गते ९२ दिनभित्र० सही र यथार्थ पत्ता लगाई षडयन्त्रकारीहरुलाई सार्वजनिक गरी कडाभन्दा कडा कारवाही गर्न हामी जोडदार माग गर्दछौं ।’

उनीहरुले २ दिनभित्र पार्टीले वेवास्ता गरे जुनसुकै कदम चालन बाध्य हुने चेतावनी पनि दिएका छन् । साथै आफुले दिएको २ दिनको समयावधीभित्र पार्टीको कुनै पनि काममा प्रत्यक्ष रुपमा संलग्न नहुने जानकारी पनि गराएका छन् ।

यसरी संयुक्त विज्ञप्ती जारी गर्नेहरुमा जिल्ला सचिवालय सदस्य तथा साँगुरीगढी गाउँ कमिटी इन्चार्ज देवमान राई, सचिवालय सदस्य हरीकुमार राई, साँगुरीगढी गाउँ कमिटी उपसचिव तथा निर्वाचित वडाध्यक्ष जितमान राई, वडा सदस्य रामभक्त राई, युवा संघका साँगुरीगढी संयोजक शुरेष राई लगायतका ६५ जना छन् ।

एमालेले साँगुरीगढी गाउँपालिकामा बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कुमार जंग याख्खालाई उम्मेदवार बनाउने घोषणा गरेको थियो । याख्खा गाउँपालिकाका अध्यक्षसमेत हुन् । योपटक नेकपा एमालेले स्थानीय तहमा पुरानै अनुहारलाई उम्मेदवार बनाउन लागेपछि तीव्र असन्तुष्टि बढेको छ । 278004541_5199247413446764_6667949082037235845_n 277204460_986738035314206_631201051762240093_n