इटहरीः आसन्न स्थानीय निकायको निर्वाचनमा गठबन्धनले नेपाली कांग्रेसलाई इटहरी उपमहानगरको मेयर पद दिने भएपछि उपमेयर पद नेकपा एकिकृत समाजवादीको भागमा परेको छ ।
मेयरको टिकट लिन नेपाली कांग्रेसका नेताहरु भागदौड गरिरहेको अवस्थामा उपमेयरको उम्मेद्धवार को बन्ने हो भन्ने पनि नगरमा अर्को चर्चा र चासोको बिषय बनेको छ । गठबन्धनबाट नेकपा एकिकृत समाजावादीले मेयर पाउने चर्चा रहेपछि अन्तिम भागबण्डामा नेपाली कांग्रेसले आफ्नो दावी नछाडेपछि कांग्रेसले मेयरको भाग पाएको छ ।
उता मेयरको तयारी गरिरहेका नेकपा एकिकृत समाजवादीका केन्द्रिय सदस्य केशव कुमार विष्ट उपमेयरमा नउठेको खण्डमा पार्टीले इटहरी नगर इन्चार्ज केवल प्रसाद फुयाँल र नगर अध्यक्ष गणेश बुढाथोकीको नाम अघि सारेको छ । उपमेयरमा समाजवादी युवा संघका इटहरी उपमहानगर अध्यक्ष समिप ढकालले पनि इच्छा राखेको बुझिएको छ ।
‘पार्टीको नगर इन्चार्ज र नगर अध्यक्ष लाई अहिले उपमेयरमा अगाडी सारेका छौँ तर ती मध्ये कसलाई दिने भन्ने निर्णय भने अहिले भइसकेको छैन’ नेकपा एसका एक नेताले प्रदेश पोर्टललाई बताए । उपमेयर र वडा अध्यक्षका उम्मेद्धवारहरुको नाम बैशाख १० गते बस्ने पार्टीको बैठकले टुगोँ लगाउने पार्टी स्रोतले बताएको छ ।