इटहरीः सरकारले घोषणा गरेको बैशाख ३० गतेको स्थानीय चुनावमा धरानमा ४ दल विच भएको गठबन्धनको सहमति बारे औपचारीक जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा अचानक हंगामा भयो ।
कोही आफुहरुको सिट नपाएको बताए त कसैले अर्कोलाई किन दिएको भन्दै आवाज निकाले कारण थियो, वडाको बाँडफाडलाई लिएर असन्तुष्ट कांग्रेस कार्यकर्ताहरुबिच भएको विवाद । दलहरुका स्थानीय नेतृत्वहरुले हस्ताक्षर गरेको सहमतिपत्र जारी गरेपछि गठबन्धनमा सहमति भएपनि वडाको बाँडफाड खारेजीको माग गर्दै असन्तुष्ट कार्यकर्ताले मञ्च घेराउ गरी होहल्ला गरेका थिए ।
कांग्रेसले जित्ने र जित्न सक्ने वडामा गठबन्धन नगर्न अडान लिइरहेको धरान वडा १९ का राजकुमार थोप्रा, वडा १७ का नारद राई लगायतको समुहले गठबन्धनको बार्ता चलिरहेकै बेला सम्झौता नगर्न चेतवानी दिएको थियो । तथापी गठबन्धन भनेको त गठबन्धननै हो जहाँ लिने मात्रै हुदैन दिन पनि पर्छ र सबैलाई चित्त बुझाउनु पर्छ । त्यसो हुँदा उनिहरुले भनेजस्तो भएन आफुले जित्ने वडाहरु अरु पार्टीलाई जिम्मा लगाइएको आरोप लगाउँदै उनिहरुनै चर्को विरोध गरेका थिए । वडा १ का अध्यक्ष रोशन अधिकारीले गुटबन्दीको आधारमा वडाहरुको वाडफाँड गरिएको बताए । उनि सहित उनिहरुले सभाहल बाहिर आएर पनि विरोध जारी राखेका थिए ।
पत्रकार सम्मेलनमा जारी विज्ञप्ती अनुसार गठबन्धनको बाँडफाडमा नेपाली कांग्रेसले नगर प्रमुख सहित वडा १, २, ५, ६, ७, ८, ९, ११, १२, १३, १४, १६ र १८ को वडा अध्यक्ष सहित सदस्यहरुमा उम्मेदवारी दिनेछन् । नेकपा माओवादी केन्द्रले उपप्रमुख सहित वडा ३, १५, १७ र २० मा उम्मेदवारी दिनेछन् । जनता समाजवादी पाटीले वडा १० र १९ मा तथा नेकपा एकिकृत समाजवादी पार्टीले वडा ४ मा उम्मेदवरी दिनेछ ।
उक्त वाँडफाड कांग्रेसको केन्द्रिय समितिको मापदण्ड र निर्देशन अनुरुप गरिएको कांग्रेस प्रदेश १ का महासचिव उमेश थापाको भनाई छ । असन्तुष्टि र विरोधका विच उनले पत्रकारहरुलाई भने ‘अघिल्लो स्थानीय चुनावमा जितेको र दोश्रो स्थानमा रहेको आधारमा वडा बाँडफाड गरिएको हो, केही वडामा कांग्रेस, माओवादी दोश्रो स्थानमा रहेको भएपनि सहमति कायम गर्न जनता समाजवादी र एकिकृत समाजवादीलाई समेटिएको छ ।’
यसअघि कांग्रेस धरान उपमहानगर सभापति श्याम पोखरेलले होहल्लाका विच वडाको बाडफाँडका बारेमा प्रकट भएको असन्तुष्टिका विषयमा छलफल गर्न पार्टी कार्यालयमा असन्तुष्ट कार्यकर्ताहरलाई आउन आग्रह गर्दै पत्रकार सम्मेलन समापन भएको घोषणा गरेका थिए ।
जनता समाजवादीका नगर अध्यक्ष ताजुब लिम्बुले गठबन्धनको औचित्य माथी प्रकाश पर्दै संघीयतानै समाप्त गर्ने षडयन्त्र भएको बताउँदै संघीयता नरहे लोकतन्त्र नरहने लोकतन्त्र नरहे पहिचान प्राप्तिको संघर्ष कठिन हुने भएकोले जसपा गठबन्धनमा रहेको बताए ।
एकिकृत समाजवादीका नगर अध्यक्ष रेवती रमण राईले प्रतिगामी शक्ति विरुद्ध विद्रोह गरी एकिकृत समाजवादी पार्टीको गठन गर्ने आँटका कारण अहिले देश प्रतिगामीहरुलाई परास्त गर्न गठबन्धनको बाटोमा अघि बढेको बताए । यसै क्रममा जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य भीम राई बोल्दै गर्दा होहल्ला शुरु भएको थियो ।
धरानको राजनीतिक बृत्तमा चार दलविच भएको चुनावी गठबन्धनलाई सकारात्मक रुपमा लिइएको पाइएको छ । केही कांग्रेस कार्यकर्ताको असन्तुष्टि देखीएतापनि वडाको बाडफाँँड कांग्रेसको अनुकुल रहेको कांग्रेस अगुवाहरुले बताएका छन् ।