बराहक्षेत्रः नेकपा एमाले बराहक्षेत्रका नगर वडा नम्बर ६ का अध्यक्ष घनश्याम पौडेलले पदबाट राजीनामा दिएका छन् । बिहिबार पार्टीका नगर अध्यक्षलाई पत्र लेख्दै उनले आफूले पार्टी परित्याग गरेको बताएका हुन् ।
आउँदो स्थानीय तहको चुनावको लागि वडाबाट अध्यक्ष पदमा ३ जनाको नाम सिफारिस भएर गएको अबस्थामा बिधिसंगत उमेदवार चयन नभएकोले आफूले राजीनामा दिएको उनको भनाइ छ ।
वडा कमिटीको बैठकले अध्यक्ष पदका लागि ३ जनाको सिफारिस नगरमा पठाएको थियो । तर नगरले ती तीनजना भन्दा बाहेकका व्यक्तिलाई अध्यक्षमा सर्वसम्मत भन्दै चयन गरेपछि पार्टीभित्र भएको यसखाले बिकृतीको भण्डाफोर गरेको पौडेलको तर्क छ ।
राजीनामा पत्रमा उनले लेखेका छन्, म एक निम्न वर्गीय परिवारको व्यक्ति हो, तर पार्टीप्रति निष्ठावान हुँदाहुँदै पनि मूल्यांकन नहुँदा एमालेमा इमानदार कार्यकर्ताको स्थान रहेनछ ।
नेकपा एमालेका बराहक्षेत्र नगर कमिटीतर्फ इंगित गर्दै उनले लेखेका छन्, ‘नेतृत्वले ढोका हुँदाहुँदै जस्केलाबाट फुत्त निकालेर आफूले इच्छाएको व्यक्तिलाई ल्यायो ।’ घनश्याम कतिमा बिकेर वडाको पद छोड्यो भन्दै नगर कमिटीले हल्ला फैलाएको उनको आरोप छ ।
नेकपा एमाले बराहक्षेत्र नगर कमिटी पदेन सदस्य र भूमिहीन सुनसरी जिल्ला कमिटी कोषाध्यक्षबाट समेत राजीनामा दिएको बताएका छन् । यद्यपि सामाजिक संजाल फेसबुकमा राजीनामा पत्र सार्वजनिक गरेका पौडेलले अहिले भने सो पोस्ट हटाइसकेका छन् ।