बराहक्षेत्रः आउँदो बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले धरानमा मेयर र उपमेयरको उम्मेदवार टुंगो लगाएको छ ।

राप्रपा धरान उपमहानगर अध्यक्ष नविन पराजुलीको अध्यक्षतमा आज (मंगलबार) बसेको बैठकले मेयरमा नरेश शाक्य र उपमेयरमा पुर्णिमाया राईलाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको जनाइएको छ ।

राप्रपा धरान नगर उपाध्यक्ष रोशन दर्नालका अनुसार मेयर पदमा अध्यक्ष पराजुलीसहित सुनसरी क्षेत्र नं १ (क)का अध्यक्ष जुद्ध लोहनी, २०७६ को उपनिर्वाचनका उम्मेदवार रोशन विश्वकर्मा दर्नाल, दोर्जे शेर्पा आकांक्षी भएपनि बैठकले सर्वसम्मत रुपमा शाक्यलाई मेयर बनाउने निर्णय गरेको हो ।

यस्तै, उपमेयरमा भने एक्ली आकांक्षी पुर्णिमाया राई पनि सर्वसम्मत उम्मेदवार बनाउने निर्णय भएको छ । मेयरका उम्मेद्वार शाक्य धरान १२ निवासी हुन् । उनी विभिन्न सामाजिक संघसंस्थाहरुमा सक्रिय छन्।

झिगु समाजको अध्यक्ष भइसकेका उनकै नेतृत्वमा खत्रीधारामा दाहसँस्कारस्थल निर्माण भएको थियो । उपमेयरकी उम्मेद्वार धरान १८ निवासी हुन् । उनी जनसरोकार मञ्च नेपालमा आवद्ध रहेर भ्रष्टचार विरोधी अभियानमा सक्रियतापुर्वक लागेकी थिइन् ।

राप्रपाले धरानको वडा नं ४, ५, ६, ८, १३, १९, ३, १५ लगायत वडाहरुमा पनि उम्मेद्वार चयन गरिसकेको नगर अध्यक्ष नबिन पराजुलीले जानकारी दिए । आजको दिनसम्म केन्द्रबाट अन्य पार्टीसँग तालमेल गर्ने कुनै सर्कुलर नआएकोले राप्रपा एक्लै चुनाव लड्ने उनको भनाई छ ।