मेचीनगरः नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले सम्मानजक एकताको आधार तय नभए कुनै दलको ‘पुच्छर’ बनेर आफ्नो पार्टी स्थानीय तह चुनावमा नजाने बताएका छन् ।
झापा धुलाबारीमा मंगलबार मेचीनगर निर्वाचन परिचालन कमिटीको कार्यालय उद्घाटनपछि खनालले पार्टीको भूमिकालाई नजरअन्दाज गरिए गठबन्धन अघि बढ्न नसक्ने चेतावनी पनि दिए । कुनै बहानामा हामीलाई अपमान गरिए त्यो सह्य हुनेछैन उनले भने‘कुनै दलको पुच्छर बन्न एकता सम्भव छैन् ।’
गठबन्धन पाए बाँच्ने र नपाए मरिहाल्ने अवस्थामा पार्टी नरहेको भन्दै गठबन्धन नभए एक्लै चुनावी मैदानमा ओर्लिन पनि तयार रहेको उद्घघोष गरे । निर्वाचन सार्न सरकार र सिंगो गठबन्धन लागि परेको भन्ने एमाले अध्यक्ष केपी ओलीको आरोपको खण्डन गर्दै खनालले थपे ‘निर्वाचन सरोस् भन्ने एमालेको भित्री चाहना छ, त्यही चाहना बारम्बार प्रतिबिम्बित भएको हो ।’
नेकपा एकीकृत समाजवादीका पोलीब्युरो सदस्य भाष्कर काफ्ले, केन्द्रीय सदस्य पुष्पराज पोखरेल, नीलमणि बराल, जिल्ला अध्यक्ष बेदराज रेग्मी, सुभद्रा भट्टराई, केन्द्रीय सल्लाहकार पुण्यप्रसाद खरेल, लक्ष्मी चित्रकार र खेलकुद मंहासघका प्रदेश १ का संयोजक शंकर थापा लगायतको आतिथ्यता रहेको थियो ।
कार्यालय उद्घाटनका कार्यक्रमको अध्यक्षता एकिकृत समाजवादी पार्टीका मेचीनगर अध्यक्ष अर्जुन पौडेलले र सञ्चालन नगर सचिव हरिप्रसाद तिम्सिनाले गरेका थिए ।