सुनसरीः सुनसरी जिल्लामा सत्तारुढ गठबन्धनका दलहरुले चुनावी तालमेल वडा तहबाटै गर्ने निर्णय सार्वजनिक गरेपनि यथार्थ भने सहमतिको प्रयास सकसपूर्ण बन्दा केन्द्रकै निर्णयको भर परेको देखिन्छ ।
गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले अधिकांश पालिकाको प्रमुख र उपप्रमुखसहित बहुमत वडाहरुमा आफ्नो दावी नछाड्दा जिल्ला स्तरबाट सहमतिको सम्भावना नदेखेपछि गठबन्धनका दलहरु केन्द्रले के निर्णय गर्छ ? भनेर कुरेर बसेका हुन।
सुनसरीका १२ वटा पालिका सबैमा कांग्रेसले प्रमुख र उपप्रमुखसहित अधिकांश वडा दावी गरेको छ ।
बामपन्थीको पकडको रुपमा रहेको धरान उपमहानगरपालिकामा उपचुनावमा नेपाली कांग्रेसले मेयर पद जितेपनि त्यसअघि सधै पराजित रहँदै आएकोमा त्यहाँ पनि प्रमुखको दावी गरेको छ ।
त्यस्तै एमालेले बहुमतसहित प्रमुख उपप्रमुख जितेको इटहरी उपमहानगरपालिकामा पनि कांग्रेसले आफ्नो दावी गरेको छ । नेपाली कांग्रेसको हालै बसेको इटहरी नगर कार्य समितिको बैठकले मेयरमा दश जना दावेदारको नाम प्रस्तुत गरेको थियो भने नगरका नेताहरुले इटहरीको मेयर र उपमेयरमा कांग्रेसको अन्य दलसँग गठबन्धन नहुने जिकिर गरेको थिए ।
अघिल्लो स्थानीय निकायको निर्वाचनमा आफुहरुले १२ वटा वडामा जित हात पारेको भन्दै कांग्रेसले बाँकी ८ वटा वडामा मात्रै गठबन्धन गर्ने र बताइराखेको छ ।
रामधुनी नगरपालिकामा उपप्रमुखसहित बहुमत वडा नेकपा एमाले र कांग्रेसले मेयर पद जितेकोमा त्यहाँ पनि दुबै पदको दावी गरिरहेको छ ।
त्यस्तै एमालेले बहुमतसहित प्रमुख र उपप्रमुख जितेको बराहक्षेत्र नगरपालिकामा पनि कांग्रेसले आफ्नै दावी गरिरहेको छ ।
कांग्रेसले अध्यक्ष र उपाध्यक्षसहित जितेको कोशी गाउँपालिकाका अध्यक्ष ऐयूब अन्सारीले त आफ्नो गाउँपालिकामा गठबन्धन दलहरुबीच चुनावी तालमेल नै नहुने घोषणा नै गरिसकेका छन ।
दुहवी नगरपालिकासहित बर्जु, गढी, देवानगञ्ज, हरिनगरमा आफूले पहिला जितेकोले अहिले पनि आफैले पाउनु पर्ने अडान कायम राखेको छ । जनता समाजवादी पार्टीले जितेको भोक्राहा नरसिंह गाउँपालिकामा समेत कांग्रेसले आफ्नो दावी गरेको छ ।
सुनसरीमा माओवादीले धरानमा मेयरको दावी गरेको छ भने एकीकृत समाजवादीले इटहरी, रामधुनी र बराहक्षेत्र आफूले पाउनु पर्ने माग गरेको छ । त्यस्तै जनता समाजवादी पार्टीले यसअघि आफूले जितेको भोक्राहा नरसिंह गाउँपालिका र करिब एकसय मतले पराजित भएको देवानगञ्ज गाउँपालिकामा दावी गरेको छ ।
जसपाका रामधुनी र इनरुवा नगर समितिले भने गठबन्धन नगर्ने घोषणा गरिसकेको छ ।
गठबन्धनका दलहरुले दावी गरेपनि कांग्रेसले अहिलेसम्म आफ्नो अडान छाड्ने संकेत नदेखाएकोले गठबन्धनको बैठक बस्ने तर कुनै ठोस निर्णय नगरी टुङ्गीने गरेको छ ।
तर आफ्नो दावी सम्बन्धमा कांग्रेसका जिल्ला सभापति केदार भण्डारी भने सुनसरीमा गठबन्धन लगभग सहमति नजिकै पुगेको दावी गर्छन । भण्डारीले गठबन्धन केन्द्रले भनेजस्तै गरी हुने भएकाले बजारमा आएका अन्य हल्लाहरु मात्रै भएको टिप्पणी गरे । ‘पहिलो स्थानीय निर्वाचनमा जसले जितेको छ त्यसैलाई दिने भन्ने केन्द्रको पनि निर्णय भएकाले त्यसै अनुरुप हाम्रो सल्लाह भइरहेको छ’ भण्डारीले भने ।
उता नेकपा माओवादी केन्द्रका सुनसरी इन्चार्ज निर्मल बरालले महानगरको मेयर र उपमेयरको हिसावमा केन्द्रले नै निर्णय गर्ने भएकाले यता आ आफ्नो दावी गर्नु कार्यकर्ता रिजाउने मेलोमात्रै भएको बताए ।
जिल्लाबाट सल्लाह र सुझाव मात्र गर्ने भएकाले आफ्नो पार्टीको स्थानीय अवस्थाबारे केन्द्रलाई सुझाव गर्ने र सल्लाह दिने काम आफुहरुले गरिसकेको बरालेले बताए । अहिलेको अवस्थामा कुनै दलले पनि एक्लैले जित्ने अवस्था नरहेकाले आफ्नो दावी त्यागेर विशिष्टतामा एमालेको विरुद्ध प्रकट भएको जनमतलाई जोगाउँदै जानुपर्ने अवस्था रहेको उनले बताए ।
धरान उपमहानगरमा नेकपा माओवादी केन्द्र २०६४ देखिकै तेस्रो शक्तिको रुपमा रहेको र इटहरीमा पनि नेपाली कांग्रेस र माओवादीको मत जोड्दा मात्रै जित्ने हो । जित्ने अवस्था आउने भएकाले कांग्रेसले पनि म एक्लै जित्छु भन्ने घमण्ड गर्न नहुने भनाई बरालको छ । ‘अहिले काग्रेसले माओवादीले वा समाजवादीले जित्ने भन्दा पनि गठबन्धनमा आवद्ध सबैले जित्ने जिताउने हो भने सामुहिक सोचाई राखेर आउनु पर्छ । सबै पार्टी संगठन सुदृढिकरण भएको छन् । पहिलेको जस्तो अवस्था कसैको पनि छैन’ बरालले पछि थपे ।
उनले कांग्रेसको अडान सम्बन्धमा अहिलेको अवस्थामा सबै एक भएर गए मात्रै परम्परागत एमालेको गढलाई एक्लाउन सकिने भएकाले सबै एक भएर जानुको विकल्प नरहेको स्पष्ट पारे ।
नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य केशवकुमार विष्टले गठबन्धनलाई बलियो बनाएर जानुको विकल्प नरहेको स्पष्ट पारे । विष्टले स्वतस्फुर्त रुपमा इटहरीमा आफुहरुको माग मेयरको भएता पनि केन्द्रले यसबारेमा निर्णय गर्ने र मेयरमा आफुहरुले पाए धेरै वडाहरुमा कांग्रेस र माओवादी आदिलाई सहमति गर्न सकिने बताए ।
महानगरको सवालमा केन्द्रले उम्मेद्धवारी टुगोँ लगाउने स्पष्ट कुरा आइसकेकाले यहाँ कार्यकर्तालाई रिझाउन आफ्नो दावी प्रस्तुत गर्नु नौलो कुरा नभएको विष्टको भनाई थियो ।