इटहरीः लोकतन्त्रमा सामन्तबाद मौलाएपछि त्यसको विरुद्धमा बनेका गठबन्धनले सुनसरीमा जित हासिल गर्ने नेकपा एकिकृत समाजवादीका सुनसरी उपसचिव राजेश भण्डारीले बताएका छन् ।
प्रदेश पोर्टलसँगको कुराकानीमा भण्डारीले गठबन्धन हुदैन भनेर संशकित हुनु पर्ने अवस्था नरहेकोले गठबन्धनले जित्नु नै जनताले जित्नु भएको बताए । गठबन्धन गर्दा नेकपा एसले अन्य ठाउँमा लचकता अपनाउने भएता पनि अघिल्लो स्थानीय चुनावमा नेकपा एमालेले जितेको ठाउँमा भने आफ्नो दावी कायम रहेको उनले बताए ।
मेयर उपमेयरको उम्मेद्धवारको निर्णय पार्टी केन्द्रले गर्ने भएता पनि इटहरीको मेयरमा नेकपा एसले इटहरीमा आफ्नो प्रभाव जमाएका केशव कुमार विष्टलाई अघि सारेको र गठबन्धनले सहमति जनाए इटहरीले नेकपा एसको नेतृत्व पाउने राजेशले सुनाए । इटहरी बाम गढ भएका कारण पनि नेकपा एसले मेयर पाउनु पर्छ भन्ने आफुहरुको दावी रहेको उनले बताए । नेकपा एसले इटहरीमा आफ्नो सक्रिय कार्यकता नै लगभग ७ हजार रहेको भण्डारीको दावी छ ।
नेपाली कांग्रेसका नेताहरुले धेरै स्थानीय तहमा आफुहरुको नेतृत्व दावी गरिरहेको सवालमा बोल्दै भण्डारीले जहाँ जसको मत छ त्यहाँ उसले दावी गर्नु स्वभाविक भएता पनि गठबन्धन भनेको एक आपसमा मिलेर जाने र प्रतिगमनलाई परास्त गर्ने सिद्धान्तले बनेको भएकाले सहमतिमै प्रक्रिया अगाडी बढ्ने स्पष्ट पारे ।
आउन लागेको स्थानीय चुनावमा जनताले कलममा किन मतदान गर्ने भन्ने प्रश्नमा भण्डारीले सरकारमा रहेका नेताहरुले पारदर्शी काम गरेका कारण पनि नेकपा एस अहिले सच्चा देशप्रेमी पार्टी भएको र यसले निरन्तर सरकार सञ्चालन गर्न पाएको खण्डमा देशलाई विकास र निकास दिने भएकाले नेकपा एस अहिलेको माग भएकाले कलममा मतदान गर्नु पर्ने बताए ।
बर्तमान इटहरी उपमहानगरको नेतृत्व पुर्णत असफल भएको बताउँदै भण्डारीले भ्रष्ट्राचार, सेवाग्राहीलाई दुव्र्यवहार जस्ता कार्य गरेर हालका जनप्रतिनिधिले आफ्नो नाम कमाईसकेको बताए । उनले इटहरीलाई प्रदेशकै नमुना नगरको रुपमा विकास गर्ने योजना नेकपा एससँग भएकाले सजग र सचेत नागरिकलाई आफ्नो पक्षमा आउन आग्रह समेत गरे । नेकपा एकिकृत समाजवादी सुनसरीको सहसचिवका साथै आर्थिक बिभाग प्रमुख समेत रहेको भण्डारी पछिल्लो समय समाजसेवामा उत्तिकै सक्रिय छन् ।