इटहरीः सुनसरी जिल्लामा गठबन्धनका दल र नेताहरुको मेयर उपमयेरमा जति दावी गरेपनि कार्यकर्ता रिझाउनमात्रै गरिएको पाइएको छ ।

मोरङ्ग र सुनसरीमा नेपाली कांग्रेसको नगर कमिटिले धेरैजसो नगर र पालिकामा मेयर र उपमेयर आफ्नो हुनुपर्ने र बाँकीमा मात्रै गठबन्धन गर्न सकिने भन्दै आफ्नो दावी प्रस्तुत गरिरहेको छ भने अन्य गठबन्धनका पार्टीहरुले भने गठबन्धन भनेको आवश्यकता र औचित्यका आधारमा हुनुपर्ने विचार राख्दै आइरहेका छन् ।

नेपाली कांग्रेसको हालै बसेको इटहरी नगरकमिटिको बैठकले मेयरमा दश जना दावेदारको नाम प्रस्तुत गरेको थियो भने नगरका नेताहरुले इटहरीको मेयर र उपमेयरमा कांग्रेसको अन्य दलसँग गठबन्धन नहुने जिकिर गरेको थिए । अघिल्लो स्थानीय निकायको निर्वाचनमा आफुहरुले १२ वटा वडामा जित हात पारेको भन्दै कांग्रेसले बाँकी ८ वटा वडामा मात्रै गठबन्धन गर्ने र बताइराखेको छ ।

आफ्नो दावी सम्बन्धमा कांग्रेसका जिल्ला सभापति केदार भण्डारीले भने सुनसरीमा गठबन्धन लगभग सहमति नजिकै पुगेको दावी गरेका छन् । प्रदेश पोर्टलसँगको कुराकानीमा भण्डारीले गठबन्धन केन्द्रले भनेजस्तै गरी हुने भएकाले बजारमा आएका अन्य हल्लाहरु मात्रै भएको टिप्पणी गरे । “ पहिलो स्थानीय निर्वाचनमा जसले जितेको छ त्यसैलाई दिने भन्ने केन्द्रको पनि निर्णय भएकाले त्यसै अनुरुप हाम्रो सल्लाह भइरहेको छ ” भण्डारीले भने ।

उता नेकपा माओवादी केन्द्रका सुनसरी इन्चार्ज निर्मल बरालले महानगरको मेयर र उपमेयरको हिसावमा केन्द्रले नै निर्णय गर्ने भएकाले यता आ आफ्नो दावी गर्नु कार्यकर्ता रिजाउने मेलोमात्रै भएको बताए । जिल्लाबाट सल्लाह र सुझाव मात्र गर्ने भएकाले आफ्नो पार्टीको स्थानिय अवस्थाबारे केन्द्रलाई सुझाव गर्ने र सल्लाह दिने काम आफुहरुले गरिसकेको बरालेले बताए । अहिलेको अवस्थामा कुनै दलले पनि एक्लैले जित्ने अवस्था नरहेकाले आफ्नो दावी त्यागेर विशिष्टतामा एमालेको विरुद्ध प्रकट भएको जनमतलाई जोगाउँदै जानुपर्ने अवस्था रहेको उनले बताए ।

धरान उपमहानगरमा नेकपा माओवादी केन्द्र २०६४ देखिकै तेस्रो शक्तिको रुपमा रहेको र इटहरीमा पनि नेपाली काँग्रेस र माओवादीको मत जोड्दा मात्रै जित्ने हो । जित्ने अवस्था आउने भएकाले कांग्रेसले पनि म एक्लै जित्छु भन्ने घमण्ड गर्न नहुने भनाई बरालको छ । “ अहिले काग्रेसले माओवादीले वा समाजवादीले जित्ने भन्दा पनि गठबन्धनमा आवद्ध सबैले जित्ने जिताउने हो भने सामुहिक सोचाई राखेर आउनु पर्छ । सबै पार्टी संगठन सुदृढिकरण भएको छन् । पहिलेको जस्तो अवस्था कसैको पनि छैन ।” बरालले पछि थपे ।

नेपाली काग्रेसले त इटहरीमा मेयर र उपमेयरमा गठबन्धन नगर्ने भन्दैछ त भन्ने प्रश्नमा बरालले नेपाली कांग्रेसले त्यस्तो धारणा बनाएको सत्य नहुन सक्ने बताए । अहिलेको अवस्थामा सबै एक भएर गए मात्रै परम्परागत एमालेको गढलाई एक्लाउन सकिने भएकाले सबै एक भएर जानुको विकल्प नरहेको नेकपा माओवादीको भनाई थियो ।

उता नेकपा एकिकृत समाजवादीका केन्द्रिय सदस्य केशव कुमार विष्टले गठबन्धनलाई बलियो बनाएर जानुको विकल्प नरहेको स्पष्ट पारे । प्रदेश पोर्टलसँगको कुराकानीमा विष्टले स्वतस्फुर्त रुपमा इटहरीमा आफुहरुको माग मेयरको भएता पनि केन्द्रले यसबारेमा निर्णय गर्ने र मेयरमा आफुहरुले पाए धेरै वडाहरुमा कांग्रेस र माओवादी आदिलाई सहमति गर्न सकिने बताए ।

नेपाली कांग्रेसले इटहरीमा मेयर र उपमेयरमा गठबन्धन नगर्ने बताइरहेको सम्बन्धमा भने विष्टले त्यो मिडियाबाजी भन्दा अरु नभएको टिप्पणी गरे । महानगरको सवालमा केन्द्रले उम्मेद्धवारी टुगोँ लगाउने स्पष्ट कुरा आइसकेकाले यहाँ कार्यकर्तालाई रिझाउन आफ्नो दावी प्रस्तुत गर्नु नौलो कुरा नभएको विष्टको भनाई थियो ।

नेकपा एसकै इटहरी नगरइन्चार्ज केवल प्रसाद फुयाँले भने गठबन्धन भनेको सबैको सहअस्थित्वलाई सम्मान गरेर जान बनेको भएकाले इटहरीमा धेरै मतान्तर नभएको दावी गरे । लोकतन्त्रमा पनि सामन्तवादी सोच भएकाहरुको विरुद्धमा बनेको गठबन्धन भएकाले सबैको अस्थित्वको सम्मान गर्नुपर्ने बताए ।

उता रामधुनी नगरपालिकामा जसपाका नेता गठबन्धन गर्न नहुने भन्दै आफु मेयरको उम्मेद्धवार भएको घोषणा गरेको खवर सार्वजनिक भएको छ । पार्टीका रामधुनी नगरकमिटीको अध्यक्ष राम बहादुर थापाले गठबन्धन भए पार्टीको अस्थित्व निमिट्यान्न हुने भन्दै पार्टीका अस्थित्व जोगाउन पनि आफु मेयरमा उम्मेद्धवारी दिने घोषणा गरेका हुन् ।