इटहरीः वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको चिकित्सा तथा दन्त चिकित्सा शिक्षक कल्याण समाजले आफुहरुले अहिले सम्म उठाएका मागहरुको सम्बोधन नभएको भन्दै प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीलाई ध्यानाकर्षण गराएका छन् ।
समाजले आफ्ना पाँच बँदे मागपत्र बुझाउँदै आफुहरुले विगतमा उठाएका मागहरुको सम्बोधन गर्न उपकुलपतिको ध्यानाकर्षण गराएका हुन् । नेपालमै चिकित्सा शिक्षाको क्षेत्रमा उत्कृष्ट भूमिका निर्वाह गरेको प्रतिष्ठानमा कार्यरत शिक्षक, कर्मचारी र विद्यार्थीहरूको महत्त्वपूर्ण योगदान रहेको माग पत्रमा उल्लेख छ।
विगत केही वर्ष देखिनै यस समाजले प्रतिष्ठानमा कार्यरत शिक्षकको मागहरूलाई लिएर पटक पटक उपकुलपति समक्ष माग पत्र बुझाइसकेको तर सो मागहरू पूरा गर्ने तर्फ कुनै पनि प्रगति नभएकोले चिकित्सक शिक्षकहरू निरुत्साहित भई पलायन समेत हुने क्रम जारी रहेकाले उक्त मागहरुको सम्बन्धमा गम्भिर बन्न माग गरिएको छ ।
समाजले ती मागहरू प्रति ध्यानाकर्षण गराउँदै प्रतिष्ठानमा कार्यरत चिकित्सक शिक्षकहरूको मनोबल उच्च राख्न र पलायन हुनबाट रोक्न यथाशीघ्र ती मागहरू सम्बोधन हुन प्रतिष्ठान व्यवस्थापनसँग माग गरिएको छ ।
समाजका अध्यक्ष डा. अरुणकुमार सिंह र महासचिव डा. आरती शर्माद्वारा हस्ताक्षर गरिएको माग पत्रमा प्रतिष्ठानमा कार्यरत चिकित्सक शिक्षकहरूको वर्षौ देखि बढुवा नभएको हुँदा योग्यता पुगेका सम्पूर्ण चिकित्सक शिक्षकहरूको यथाशीघ्र बढुवा गरिनुपर्ने, करारमा रहेका एसआर फ्याकल्टीहरूलाई यथाशीघ्र पदोन्नतिको व्यवस्था गरिनुपर्ने, प्रतिष्ठानमा कार्यरत शिक्षक/कर्मचारीहरूको छोरा÷छोरीले प्रतिष्ठानको विभिन्न शिक्षा कार्यक्रमहरूमा पाउने गरेको सिटहरू पुनः यथाशीघ्र सुचारु गरिनुपर्ने, कोभिडको कारणले बन्द भएको एनुअल ग्रान्ट पुनः सुचारु गरिनुपर्ने र प्रतिष्ठानमा बिकराल बन्दै गएको पानीको समस्याको दीर्घकालीन समाधानको लागि तत्काल व्यवस्थापन गरिनुपर्ने माग गरिएको छ ।
माग पत्र प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीलाई समाजका अध्यक्ष डा. अरुणकुमार सिंहले बुझाएका थिए भने ज्ञापनपत्रमा महासचिव डा. आरती शर्मा र अध्यक्ष अरुण कुमार सिहँले हस्ताक्षर गरेका छन् ।