इटहरीः इटहरी उपमहानगरको मेयर र उपमेयरमा गठबन्धन नगर्ने दावी नेपाली कांग्रेस इटहरी नगरसमितिले गरेको छ ।
आफ्नो पार्टीका दश जना मेयरका दावेदार देखाउँदै नेपाली कांग्रेसले मेयर र उपमेयरमा नेपाली कांग्रेस एक्लले जित्ने भएकाले गठबन्धनलाई वडामा मात्र सिमित गर्ने रणनिति अघि सारेको काग्रेसले बताएको छ ।
गठबन्धनमा रहेका पार्टीलाई आफ्नो पार्टीको धारणा बताउनु अघि बसेको पार्टी नगरकमिटिको बैठकले गठबन्धनलाई स्वीकार गरेरै जाने तर मेयर र उपमेयरमा आफुहरुको अठान कायम राख्ने निष्कर्ष निकालेका छन् ।
पार्टीमा मेयरका लागि दश जनाले दावी प्रगरेका छन् । मेयरको दावी गर्नेमा अघिल्लो स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धी बनेका नेता रोहित प्रसाई सहित पार्टीका नगर सभापति हेमकर्ण पौडेल, उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भिम पौडेल सहित रहेका छन् ।
त्यसैगरी मेयरमा आफ्नो दावी प्रस्तुत गर्ने कांग्रेस नेताहरुमा विकाश केसी, सूर्य राई, रामरोहन चौधरी, नागेशचन्द्र राई, विष्णु बहादुर डाँगी र कल्पना चौधरी रहेका छन् । उनिहरुले आफुले पार्टीमा गरेको योगदान देखाउँदै जित्ने आधार सहित दावी प्रस्तुत गरेका हुन् ।
त्यसैगरी उपमेयरमा विमला ढकाल, उर्मिला चौधरी, बबिता चौधरी, निर्मला चौधरी, गीता श्रेष्ठ, कौशीला सुनुवार चौधरी छन् । त्यसैगरी उपमेयरकै आकाक्षँीमा सुशीला लेखी, सुशीला चौधरी, रुपा कार्की, मेनुका गिरी, शिला गजमेरले आफ्नो दावी दिएका छन् । उपमेयरको दावी गर्ने मध्ये विमला ढकाल अघिल्लो स्थानीय निर्वाचनमा समेत प्रतिस्पर्धा गरीसकेकी छन् भने बाँकी नयाँ अनुहार छन् ।
मेयर उपमेयरमा आफ्नो दावी देखाउनेहरुले वडा स्तरमा मात्र गठबन्धनका दलहरूलाई भाग दिने र नगरमा आफ्नो प्यालन बनाएर जाने धारणा राखेका छन् । गठबन्धनको नाममा प्रमुख उपप्रमुख नछाड्ने अडान लिनेहरुमा कांग्रेस केन्द्रिय सदस्य राजीव ढुगाँना, पाटीका इटहरी नगर सभापति हेमकर्ण पौडेल लगायत छन् ।
उनिहरुले माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी जस्ता दलले ठुलो भाग माग्दा गठबन्धन प्रभावकारी नहुने तर्क अगाडी सारेका छन् ।