इटहरीः नेकपा एमालेको धरान उपमहानगर कमिटीले धरान उपमहानगरपालिकामा स्थानीय निर्वाचनका लागि मेयर र उपमेयरका उम्मेदवारहरुको नाम सिफारिस गरेर पठाएको छ ।धरानलाई केन्द्र बनाएर राजनिति गरिरहेका एघार जना आकांक्षीको नाम सिफारिस भएको नेकपा एमाले धरानले जनाएको छ ।
यसपटक धरानमा मेयरकै लागि पनि ११ जना आकाङ्क्षी देखिएका छन् भने उपमेयरमा ६ जनाको नाम सिफारिस गरेर जिल्ला पठाइएको पाइएको छ ।
धरान उपमहानगरको बागडोर सम्हाल्न पार्टीबाट सिफारिस हुनेहरुमा मेयरका लागि हालकी उपमेयर समेत रहेकी मञ्जु भण्डारी, पूर्व मेयर मनोज मेन्याङ्बो, विजय राई, प्रकाश राई, मोतीराज सुनुवार, दोर्पध्वज राई, किशोरकुमार कार्की, मिन सुब्बा, नारायण सुवेदी, राजमणि निरौला र तिर्थ मास्केको नाम सिफारिस भएको छ ।
यस्तै, उपमेयरमा सविता चाम्लिङ राई, लहरुमाया जिमी, पदम इस्वो, इन्द्रकला राई, लिला राई, सुशिला पहाडीको नाम सिफारिस भएको छ ।नगरकमिटीले सिफारिस गरेका नामहरु जिल्ला कमिटीमा पठाइसकिएको र जिल्ल सचिवालयले त्यसमा काँटछाँट गरेर प्रदेश कमिटीमा पठाउँछ भने , प्रदेशले नाम काँटछाट गरेर केन्द्रको सचिवालयमा पठाउने र केन्द्रले उम्मेद्धवारको टुङ्गो लगाउने बताइएको छ । वडा अध्यक्ष र अन्य पदाधिकारीहरुको हकमा भने बैठकहरु निरन्तर बसिरहेको र चाँडै टुगो लगाइने एमाले धरानले बताएको छ ।