बराहक्षेत्रः आउँदो बैशाख ३० मा हुने स्थानीय चुनावका लागि बराहक्षेत्र नगरपालिकाको मेयर पदमा युवा नेता रमेश काफ्ले लोकप्रिय देखिएका छन् ।

पछिल्लो समयमा उम्मेदवार बन्ने आकांक्षीहरूबीच तीब्र प्रतिष्पर्धा भई रहँदा बराहक्षेत्रमा समाजिक संजाल र सर्वे विधीबाट गरिएको भोट पोलमा नेपाली कांग्रेसका नेता काफ्ले लोकप्रिय देखिएका हुन् ।

सर्वे र भोटपोलमा नेपाली कांग्रेसका तर्फबाट समावेश गरिएका नाममध्ये हालका नगर सभापति रमेश कार्कीभन्दा भन्दा कांग्रेसका प्रदेश महासमिति सदस्य काफ्ले मेयर पदको उम्मेदवार बन्नुपर्छ भन्ने जनमतमा ५ मतले अगाडि देखिएका छन् ।

सर्वेक्षणमार्फत नेपाली कांग्रेसबाट बराहक्षेत्रको मेयरका लागि उम्मेदवारका आकांक्षीहरुको आधा दर्जनबढीको सुचीमध्ये युवा नेता काफ्ले कांग्रेसका नेता कार्यकर्ता, समर्थक, शुभचिन्तक र बराहक्षेत्रवासी माझमा लोकप्रिय उम्मेदवारका रुपमा अगाडी देखिएको बुझिन्छ ।

स्थानीय निर्वाचन केन्द्रित रहेर गरिएको जनमत सर्वेक्षणमा कांग्रेसका आधा दर्जनबढी नेताहरुको भिडमा रमेश काफ्लेप्रति आउने निर्वाचनमा विपक्षी दलका उम्मेदवारसँग प्रतिष्पर्धामा उत्रिन सक्ने व्यक्तित्वका रुपमा उनलाई लिएको पाइएको छ ।

बराहक्षेत्रका ११ वटा वडाहरुमा जनमत नमुना सर्वेमा समावेश गरिएका कांग्रेसका तर्फबाट उम्मेदवारका दावेदार रहेका प्रत्यासी मेयर बाबुराम बिष्ट, नगर सभापति रमेश कार्की, क्षेत्र नम्बर १ ख का उमेदवार बुद्धि कट्वाल, उधोग बाणिज्य संघ बराहक्षेत्रका अध्यक्ष सुरेन्द्र गुप्ता, महासमिति सदस्य जगत बहादुर कार्की, महाधिवेशन प्रतिनिधि अनु गुरुङमध्ये चुनावी मैदानमा विपक्षीसँग प्रतिष्पर्धा गर्न योग्य र लोकप्रिय उम्मेदवार रमेश काफ्ले हुने बराहक्षेत्रबासीले अभिमत जनाएका छन् ।

बराहक्षेत्रबासी र कांग्रेसका नेता कार्यकर्ताहरुको जनमतको आधारमा समर्थन पाएका रमेश काफ्लेले भने आफूलाई पार्टीले संसदिय फाँटमा जिम्मेवारी दिए चुनावी मोर्चामा नेतृत्व गर्न तयार भएको तर अस्वस्थ्य प्रतिष्पर्धाबाट भने उम्मेदवार नबन्ने प्रतिक्रिया दिए ।

बराहक्षेत्रका युवाहरु एडमिन रहेको ुअनलाइन बराह नगरपालिका न्युजु नाम गरेको फेसबुकको पब्लीक गुप्रमा कांग्रेसका अन्य दावेदारमध्ये युवा नेता रमेश काफ्लेका पक्षमा भोटपोल जनमतको बहुसख्यकले मतदान गरेर उनलाई आगामी चुनावका लागि मेयर पदको उम्मेदवारका रुपमा समर्थन गरेको पाइएको छ ।स्कुल जीवनबाटै नेपाल विद्यार्थी संघका राजनितीमा लागेका काफ्ले जनता बहुमुखी क्याम्पस इटहरीको सभापति भइसकेका नेता हुन् ।

पछिल्लो समय नेपाली कांग्रेस बराहक्षेत्रभित्र नगर सभापति कार्कीको नाम चर्चामा रहिरहेको बेला उक्त अनलाइन सर्वेक्षणले अप्रत्याशित जनमत रहेको पुष्टि गरेको छ । यतिबेला नगर सभापति कार्कीले मेयरको टिकट पाउनुपर्ने र टिकट पाएको खण्डमा चुनाव जित्ने धेरैले आंकलन गरिरहेका छन् । सामाजिक कार्यमा सक्रिय रहेका कार्की जनमानसमा लोकप्रिय भएपनि संजालको नतिजाले उनलाई समेत पछी पारेको छ ।

निलम खनाल तेस्रो स्थानमा

बराहक्षेत्र नगरपालिकाका वर्तमान मेयर निलम खनाल उक्त सर्वेक्षणबाट तेस्रो स्थानमा आइपुगेका छन् । नेकपा एमालेका तर्फबाट यसपटक पनि मेयर पदमा दोहोरिने उमेदवारका रूपमा उनलाई हेरिएको छ । यद्यपि पार्टीभित्रैबाट बाधा र अबरोध हुन लागेको बुझिएको छ ।

अनलाइन सर्वेक्षणबाट समेत प्रथम स्थानमा आउने अनुमान गरिएका संभावित उमेदवार खनाल तेस्रो स्थानमा आउँदा अप्रत्याशिक नतिजा मानिएको छ । नेकपा एमालेका तर्फबाट समावेश गरिएका अन्य नामहरुमा राजेन्द्र कार्की र डिबि शाहशंकरको पक्षमा समान ४÷४ मत प्राप्त भएको छ भने युवा नेता सुरज भण्डारीको पक्षमा १३ जनाले मत जाहेर गरेका छन् ।

अनलाइन सर्वेक्षण हिजो बुधबार साझ ५ बजेदेखी आज साझ ५ बजेसम्म संचालन गरिएको थियो । सर्वेक्षणमा नेकपा एमाले, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरुको नाम समावेश गरिएको थियो । सर्वेक्षणमा बराहक्षेत्रका माथिल्लो तहका नेतादेखी आमजनताको समेत मत जाहेर गरेका थिए ।