इटहरीः कम्व्याक जित निकाल्दै सगरमाथा युथ क्लब विराटचोक १२ औ संस्करणको इटहरी गोल्डकपको फाइनल प्रवेश गरेको छ ।
इटहरी रंगशालामा जारी प्रतियोगितामा मनाङ मर्स्यादी विरुद्ध पहिलो हाफमा २–० ले पछि परेको अवस्था उल्टयाउदै ४ गोल गरेर सगरमाथाले उपाधिको लागि विभागीय टोली त्रिभुवन आर्मीसंगको भेट पक्का गरेको हो ।
सगरमाथालाई जित दिलाउन आशिष लामाले २ गोल गरे । भुवन बस्नेत र आभाष लामिछानेले १÷१ गोल गरे । कप्तान अञ्जन विष्टको गोलबाट खेलको २१ औ मिनेटमा मनाङले सुरुवाती अग्रता लिएको थियो । अञ्जनको फ्रिकिक प्रहारले सिधै जाली चुमेको थियो । ३० औ मिनेटमा अफिज ओलवालेले अग्रता दोब्बर बनाए । सुमन लामाको क्रसमा उनले वान भर्सेस वानको अवस्थामा गोल गरे ।
पहिलो हाफको अग्रतालाई जोगाउन नसक्दा मनाङले दोश्रो हाफमा ४ गोल व्यहोर्न पुग्यो । ६६ औ मिनेटमा मनाङका डिफेन्डरले डिवक्सभित्र ह्यान्ड गरेपछि पाएको पेनाल्टीलाई आशिष लामाले गोलमा परिणत गरे । ६९ औ मिनेटमा आशिषले खेल बराबरीमा ल्याए । निशान खड्काको क्रस पासमा आशिषले जाली चुमाए । गोलरक्षक विशाल सुनार विट भएको अवस्थामा आशिषको प्रहारलाई डिफेन्डर दिनेश राजवंशीले बचाउन सकेनन् ।
निक्कै दबाबमा परेको खेलमा मनाङका खेलाडीहरु सम्हालिएर खेल्न नसक्दा १३ मिनेट भित्रमा थप २ गोल व्यहोर्न पुगे । ७२ औ मिनेटमा भुवन बस्नेतले सगरमाथालाई अग्रता दिलाए । डिबक्स नजिकै बाँया भागबाट उनले गरेको प्रहार गोलरक्षक विशाललाई नाघ्दै जाली चुम्यो । ८५ औ मिनेट आभाष लामिछाने गोल गरेपछि उपाधिको दाबेदार मनाङ सेमीफाइनलबाटै बाहिरियो । खेलमा दुवै टोलीले पाएका केही सुन्दर अवसर सदुपयोग हुन सकेन् ।
खेलको तेश्रो मिनेट गोलपोष्ट नजिकैबाट मनाङका कप्तान अञ्जनको प्रहारलाई गोलरक्षक प्रिसोले पञ्च गरेर बचाए । ८ औ मिनेटमा अफिजको हेडर बाहिरियो । ११ औ मिनेटमा आशिष लामा प्रहार मनाङका गोलरक्षकले खेलमैदान बाहिर पठाइदिए । २५ औ मिनेटमा कमल श्रेष्ठको क्रसमा अफिजको हेडरले पोष्टको दिशा लिन सकेन् । ५१ औ मिनेटमा अफिजको क्रसलाई डिवक्सभित्र अञ्जनले सदुपयोग गर्न सकेनन् ।
पेनाल्टी विरुद्ध अफिसियलहरुसंग वादविवाद गरेपछि मनाङका मिडफिल्डर पुजन उपकोटीले पहेलो कार्ड पाए । खेलपछि पत्रकारहरुसंंग बोल्दै मनाङका प्रशिक्षक राजेन्द्र तामाङले पहिलो हाफमा पोजिसन राखेर स्कोर निकाले पनि दोश्रो हाफमा विपक्षी टोलीले डोमिनेट गर्दा पराजय व्यहोरेको बताए । अहिले रेफ्रीले दिएका पेनाल्टी प्रति असन्तुष्टी जनाउँदै भने ‘ लज अफ द गेम हामीले पनि पढेको हुन्छौ । खेलाडीको हात उठेको बेला लाग्यो भने हेन्ड बल हुन्छ । हेड गर्ने बेलामा टाइमिङमा गयो भने हेन्डबल हुँदैन् । रेफ्रीको निर्णयमा हामीले केही गरेर हुँदैन् । ’
उनले खेलाडीहरुको तालमेल नमिल्दा पराजित भएको बताए । ‘ मुख्य खेलाडी पुजन (पुजन उपरकोटी) आवेगमा आएर रेडकार्ड खाइदिन्छु यस्तो भयो भने गाह्रो हुन्छ भनेर फस्टेड भएपछि तालमेल विग्रन पुग्यो फेरी अर्को गोल भइदियो यस्तो अवस्थामा कमव्याक गर्न गाहो हुन्छ । २–२ को अवस्थामा पनि कमव्याक गर्न सकिने भएपनि खेलाडीहरुका तालमेलको कमीले खेलमा पराजित भएको बताए ।
सगरमाथाका प्रशिक्षक युजन गुरुङ खेल जिवनको अविश्मरणीय पल मान्छन् । मनाङ जस्तो टोलीसंगको जित अविश्सनिय रहेको उनले बताए । पहिलो हाफको रणनीति सफल नभएपछि दोश्रो हाफमा १० मिनेट भित्र परिर्वतन गर्ने योजनामा सफल भएको बताए । ४–३–३ को रणनीतिमा मिडफिल्डरमा समस्या देखिएपछि फ्रन्ट लाइनमा ४ जना बनाएपछि २ जनालाई ओभरल्याप गर्ने रणनीति बनाएपछि सफल भएको हो ।
आर्मी विरुद्ध राम्रो खेल्ने अपेक्षा रहेको उनले बताए । एक जना खेलाडीमा दोहोरो पहेलो कार्ड भएकाले समस्या आएको उनले बताए । उनले दोश्रो हाफमा परिर्वतन भएका सवै सगरमाथा क्लबको उत्पादन भएकाले त्यस सेटले अपेक्षा अनुसार खेलेको बताए ।
उपाधिको लागि सगरमाथाले शनिबार त्रिभुवन आर्मीलाई प्रतिद्धन्द्धी पाएको छ । रोलिङ क्लब झापालाई हराउँदै आर्मीले यसअघि फाइनलमा स्थान बनाइसकेको छ । प्रतियोगिताको विजेताले नगद ७ लाख र उपविजेताले ३ लाख ५० हजार प्राप्त गर्नेछ । यस्तै उत्कृष्ट खेलाडीले स्कुटर र उदयीमान खेलाडीले ४० इन्चको एलइडी टिभी पाउने छ । अन्य विधाका विजेताहरुले नगद १५ हजार प्राप्त गर्नेछन् । कन्ट्रोल लुवरिकेन्टको मुख्य प्रायोजन रहको प्रतियोगिता राष्ट्रिय जागृति क्लबको आयोजनामा चैत्र १२ गतेबाट सुरु भएको हो ।