इटहरीः प्रदेश एक सरकारले पुर्वाग्राही ढंगले कर्मचारी सरुवा गरेको भन्दै एमाले निकट नेपाल निजामती कर्मचारी संगठन मोरङ्गले प्रदेश एकका मुख्य सचिवलाई ज्ञापन पत्र बुझाएका छन् ।
स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै जाँदा बेमौसममा कर्मचारी सरुवा गरी आतंकित पारेको भन्दै प्रदेश १ का प्रमुख सचिव डा. रामप्रसाद घिमिरेलाई ज्ञापन पत्र समेत बुझाएको संगठन मंगलबारै एक प्रेस विज्ञप्ती समेत जारी गरेको छ ।
प्रेस विज्ञप्तिमा बेमौसमा कर्मचारीलाई आतंकित बनाउने गरि भएको सरुवा तथा पदस्थापनको कामलाई तत्काल बदर गर्न माग गरिएको छ ।
‘पछिल्ला दिनहरुमा प्रदेश सरकारका विभिन्न मन्त्रालय अन्तर्गतका कार्यालयमा कार्यरत नेपाल निजामती कर्मचारी संगठनका पदाधिकारी सदस्य र शुभचिन्तक भएकै कारणबाट आस्थाको आधारमा पूर्वाग्रही ढंगबाट सरुवा गर्ने काम भैरहेको घटनाप्रति हाम्रो संगठनको गम्भिर ध्यानाकर्षण भएको छ’ जारी विज्ञप्तिमा भनिएको छ ।
आस्थाकै आधारमा ऐन, कानुन विपरित गरिने यस्ता कार्यले निजामती प्रशासनका क्षेत्रमा सरकारले स्वेत आतंकको झ –झल्को दिएको संगठनको आरोप छ । संगठनले प्रदेश सरकार मुख्यमन्त्रीको सचिवालयको हवला दिँदै अमुक व्यक्तिहरुले कर्मचारीहरुलाई हप्काउने, दवाव दिने, आर्थिक चलखेलयुक्त सरुवाको निमित्त दवाव र प्रभाव दिने गरेको समेत गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
सरुवा तथा पदस्थापनमा आर्थिक चलखेलको विषयले प्रदेश सरकार दङदङ्ती गन्हाएको टिप्पणी निजाकति कर्मचारी संगठनले गरेका छन् । आफ्नो राजनितिक भविष्यको सुनिश्चितता नदेखेका केहि राजनीतिक आवरणमा काम गर्ने व्यक्तिहरुबाट चलाईको यो र यस्ता खाले गतिविधीले समग्र राष्ट्रसेवकहरुको अपमान भएको भन्दै संगठनले प्रदेश सरकारले यस्ता हर्कत रोक्नु पर्ने माग बिज्ञप्तीमा गरिएको छ ।
विज्ञप्तीमा पछिल्ला दिनहरुमा प्रदेश सरकारबाट भएको लेखा, प्रशासन कर्मचारीहरुको सरुवा तथा सेवा समूह, उप–समूह समेतलाई ख्याल नगरी जथाभावी गरिएको प्राविधिक कर्मचारीहरुको सरुवा तत्काल बदर गर्न प्रदेश सरकारसँग माग गरिएको छ ।
संगठनका मोरङ जिल्ला अध्यक्ष ओमराज सुवेदीद्धारा जारी विज्ञप्तिमा कर्मचारी प्रशासनको संयम्मतालाई कमजोर ठानेर यीनै कृयाकलापहरु दोहोरिएमा आशन्न स्थानीय तहको निर्वाचनमा गम्भिर असर पुग्नसक्ने र सो को जिम्मेवार प्रदेश सरकार हुने उल्लेख गरिएको छ ।