इटहरीः अघिल्लो स्थानीय तहको निर्वाचन परिणाम पाठकलाई जानकारी गराउने क्रममा हामीले यसपटक इटहरी वडा नम्बर ८ को मत परिणामलाई लिएर आएका छौँ ।
अघिल्लो स्थानीय तहको निर्वाचनमा इटहरी उपमहानगरपालिका वडा नम्बर ८ मा वडा अध्यक्षको लागि ६ जनाले चुनावी प्रतिस्पर्धामा भाग लिएका थिए ।

नेपाली कांग्रेसको गढ मानिएको वडा नम्बर ८ को नेतृत्व झण्डै डवल मतले कांग्रेसमा उम्मेद्धवार रोहित कुमार चौधरीले जित हासिल गरेका थिए भने तिव्र प्रतिस्पर्धामा आएका नेकपा एमालेका उम्मेद्धवार टंकमणी नेपाल थिए । चौधरीले १ हजार ४ सय ७५ मत ल्याउँदै नेपालले ८ सय ४३ मत पाएका छन् । उता प्रतिस्पर्धामा उत्रिएका मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका उम्मेद्धवार जश्वन गच्छादारले १ सय ९२ मत पाएका थिए भने राप्रपाका धनराज राईले १ सय ४२, नेकपा माओवादी केन्द्रकी कविता भट्टराईले १ सय २२ र नयाँ शक्ति पार्टी नेपाका उपेन्द्र श्रेष्ठले १८ मत पाएका थिए ।

वडा नम्बर ८ मा महिला सदस्यमा ५ जनाको प्रतिस्पर्धा रहेको थियो । महिला सदस्यमा पनि नेपाली कांग्रेसकी इन्दिरा आचार्य रिजालले जित हासिल गरेकि थिइन् । रिजालले १ हजार २ सय ६२ मत ल्याउँदा प्रतिस्पर्धी देखिएकी एमालेकी उम्मेद्धवार कल्पना तामाङ्गले ९५२ मत पाएकी थिइन् भने उनलाई पछयाउँदै मधेशी जनअधिकार फोरमकी मेनुका देवी माझीले १ सय ८२, माओवादी केन्द्रकी मिरा थापा र राप्रपाकी यशोदा देवी डाँगी अधिकारीले १ सय ४७ मत पाएका थिए ।

दलित महिला सदस्यमा पनि नेपाली कांग्रेकी उम्मेद्धवार सिता कुमारी हरिजन चमारले जित हासिल गरेकी थिइन् । दलित महिला सदस्यमा भने चमारलाई नेकपा एमालेकी उम्मेद्धवार देवकी सदाले पछ्याएकी थिइन् । हरिजनले १ हजार २ सय ७९ मत प्राप्त गर्दा सदाले ८ सय ९८ मत पाएका थिइन । उता मेधशी जनअधिकार फोरमकी उम्मेद्धवार सीता हरिजनले १ सय ९१ राप्रपाकी सुकुनी हरिजनले १ सय ४१ माओवादी केन्द्रकी चन्द्रकला विश्वकर्माले १ सय ५० मत पाएका थिए ।

वडा नम्बर ८ को वडा सदस्यको २ जनाका लागि ११ जना उम्मेद्धवार मैदानमा उत्रिएका थिए । एघार उम्मेद्धवारमा नेपाली कांग्रेसका उम्मेद्धवारद्धय बुध नारायण चौधरी र खुपराज शर्मा विजयी बने भने अन्य प्रतिस्पर्धाबाट बाहिरिए । वडा सदस्यमा बिजयी भएका उम्मेद्धवारले क्रमश १ हजार १ सय ९४ र १ हजार १ सय ७८ मत पाएका थिए । तिव्र प्रतिस्पर्धामा रहेका नेकपा एमालेका उम्मेद्धवारद्धय गुणराज जमरकटेल र दिप नारायण सरदारले क्रमश ८ सय ६१ र ८ सय ३५ मत पाएका थिए ।

वडा सदस्यको प्रतिस्पर्धामा नयाँ शक्ति पार्टीका उम्मेद्धवारद्धय सत्यनारायण सरदार र दिप नारायण चौधरीले क्रमश १२ र १३ मत ल्याएर दशौँ र एघारौँ नम्बरमा आफुलाई सिमित राखेका थिए भने राप्रपाका प्रदिप ठाकुरले ४ सय ४ मत ल्याएर आफुलाई पाँचौ नम्बरमा कायम गरे । उता फोरमका मोहन सरकारले १ सय ५५ मत ल्याए भने राप्रपाका रमेश कुमार चौधरीले १ सय ४३ मत प्राप्त गरे । वडा सदस्यको प्रतिस्पर्धामा इटहरी ८ बाट उत्रिएका नेकपा माओवादी केन्द्रका टेकनाथ सुवेदी र वेद प्रसाद चापागाईले क्रमश १ सय ४१ र १ सय ३१ मत पाएका थिए ।