इटहरीः इटहरी उपमहानगरपालिकाका मेयर र प्रमुख प्रशासकिय अधिकृतको मिलेमत्तोमा नियम विपरित कर्मचारी भर्ती गरिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीमा उजुरी परेको छ ।
भ्रष्ट्राचार गर्ने दोषिउपर कारवाहि गरी नियुत्ति वदर गराई पाउँ भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी स्थित कार्यलयमा चैत्र २० गते उजुरी दर्ता भएको हो ।
इटहरी उपमहानगरपालिका वडा नम्बर ५ का तारा पोखरेलले इटहरी उपमहानगरले आफँैले नगरसभाबाट पारित गरेको निर्णय बिपरित गत माघ महिनामा ठुलो संख्यामा दैनिक ज्यालादारी भन्दै अनावश्यक कर्मचारी भर्ती गरेको र शैक्षिक बेरोजगारलाई प्रतिस्पर्धा गर्नबाट बन्चित गरेको भन्दै अख्तियारमा उजुरी दिएका छन् । पोखरेलले दिएको उजुरी अख्तियार दुरुपयोगको कार्यलयमा सी ०३५०६५ नम्बरमा दर्ता भएको छ ।
उजुरीमा नगरप्रहरी, सवारीचालक, सयश, कार्यालय सहयोगी, प्लम्बर,इलेक्ट्रिसियन, चौकीदार, बगैँचे, माली र सरसफाई कर्मचारी स्थायी पदपुर्ती नगरी प्रतिस्पर्धाको आधारमा करार सेवाबाट मात्रै पदपुर्ती गरिनेछ भनेर नगरसभाबाट पारित भई रातो कितावमा समेत अन्तिम पेंजमा उल्लेख गरिए पनि उपमहानगरपालिकाले त्यसको बेवास्ता गर्दै रिक्त दरबन्दीमा सार्वजनिक सुचना विनै आफन्त र पार्टीका कार्यकर्तालाई नियुक्ति गरिएको उल्लेख गरिएको छ । सेटिङ्गका आधारमा ज्यालादारीका बिभिन्न पदमा ठुलो संख्यामा नियुक्ति गरी आम नागरीकहरुको रगत र पसिनाको करबाट उठेको लाखौँ रुपैँया खेलवाड गरी शिक्षित बेरोजगार लाई प्रतिस्पर्धा गर्न पाउने हकबाट बन्चित गरिएको निवेदकले उल्लेख गरेका छन् ।
निवेदकले कम्प्युटर प्राविधिकका रुपमा सेटिङ्गमा अयोग्य कर्मचारी राखी चुस्त दुरुस्त सर्वसुलभ सेवा पाउने अधिकारबाट नागरिकलाई बन्चित गराएको आरोप समेत लगाएका छन् । इटहरी उपमहानगरले कम्प्युटर अपरेटरको परिक्षामा अयोग्य ठहर भएका कर्मचारीलाई नराख्ने भनेर २०७७ भदौ १४ गतेको बैठकबाट निर्णय गरेको भएता पनि आफैँले गरेको निर्णय आफैँले उल्टाउँदै म्याद थप्दै राखिराखेको छ । उता दैनिक ज्यालादारीमा रहेका ती कर्मचारीलाई मासिक तलव ख्वाउने र महत्वपुर्ण शाखामा राखेर काम लगाएको पाइएको छ ।
निवेदकले पटक पटक लोकसेवा आयोगको परिक्षा हुँदा समेत उपमहानगरले उक्त पदका कर्मचारी माग नगरी आफ्ना आसेपासेलाई जोगाउन कर्मचारी माग नगर्ने र ज्यालादारी कर्मचारीको म्याद थप्दै राखेर विश्वसनिय निष्पक्ष सेवा पाउने नागरिकको हक बञ्चित गरिएकाले यस्ता अबैधानिक नियुक्ति गरिएका कर्मचारीहरुको नियुक्ति बद्धर गरी यस्तो नियुत्ति गरी नीतिगत भ्रष्ट्राचार गर्नेलाई कारवाही गर्न अख्तियार समक्ष माग गरेका छन् ।
इटहरी उपमहानगरले आवश्यकता भन्दा बढि कर्मचारी बिना प्रतिस्पर्धा राखेको भन्दै यस अघि प्रदेश पोर्टलले समाचार प्रकाशन गरेको थियो । प्रदेश पोर्टलसँगको कुराकानीमा उपमहानगरको स्रोतले नगरप्रमुख द्धारिकलाल चौधरीको सोझो सिफारिसका आधारमा नगरपालिका र विभिन्न वडामा समेत अनावश्यक कर्मचारी दैनिक ज्यालादारीका आधारमा भर्ती गराईएको स्वीकार गरेको थियो ।
उपमहानगरले वडाध्यक्षकी छोरी, मेयरकी भान्जी, बिभिन्न राजनितिक पार्टीका पदाधिकारीमै नाता रहेकालाई समेत दैनिक ज्यालादारी भन्दै कर्मचारीमा भर्ती गरेको बताइएको छ । प्रदेशपोर्टलसँगको कुराकानीमा तत्कालिन प्रमुख प्रशासकिय अधिकृत सुर्यप्रसाद सुवेदीले जागिर खोज्दै आउनेहरु मेयर उपमेयरसँगै ठोक्किने भएकाले जनप्रतिनिधिकै सिफारिसमा आवश्यक पदमा दैनिक ज्यालादारीका कर्मचारी राखिएको बताएका थिए ।