बिर्तामोडः नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) झापा चुनावी गतिविधीमा सक्रिय भएको छ । पार्टीले झापामा १ हजार एक सय सदस्यीय चुनाव प्रचारप्रसार समिति गठन गरेको छ ।

बिर्तामोडमा शुक्रबार पत्रकार भेटघाट आयोजना गरी पार्टीले २५१ सदस्यीय झापा जिल्ला कमिटीमा बाँकी रहेका पदाधिकारीहरुलाई पूर्णता दिनुका साथै कार्यालय कमिटी र सचिवालय चयन गरेको जानकारी दिएको छ ।

पार्टीले जिल्लाका १५ वटै पालिकामा इन्चार्ज, भातृ संगठन, मोर्चाका इन्चार्ज, संघीय इकाई र प्रदेश इकाईका संयोजक र सचिव तोकेको जनाएको हो । झापाको ९० वटा वडामा कमिटी गठन गरेको बताउँदै ७ हजार ४६ जना संगठित सदस्य रहेको कार्यक्रममा जानकारी दिइयो ।

नेकपा एकिकृत समाजवादी झापाका अध्यक्ष बेदराज रेग्मीले ओली गुटलाई निमिट्यान्न पार्न चाहेको बताएका छन् । यदि त्यसो भएमात्र नेपालको कम्युनिष्ट आन्दोलन ठीक दिशाामा अघि बढ्ने रेग्मीको भनाई छ ।

रेग्मीले पार्टीको केन्द्र तथा प्रदेशको कार्ययोजना अनुरुप संगठन सुदृढीकरण तथा निर्वाचनको अभियानको तयारीका लागि सबै शक्ति केन्द्रित गर्दै जाने, चुनावका लागि आवश्यक वार्ता, संवाद, तालमेल, गठबन्धन गर्ने र गठबन्धनमा रहेका दलहरुबीचको साझा सहमति कायम गर्नका लागि आफ्नो संयोजकत्वमा समिति गठन गरेको जानकारी दिए । पार्टीले समन्यायका आधारमा गठबन्धन भित्र जिल्लाका सबै पालिका र वडामा उम्मेवारी दिने बताइएको छ ।