बराहक्षेत्रः ज्ञानेन्द्र शाही कुनै बेला भ्रष्टाचार विरोधी अभियन्ताका रूपमा प्रसिद्व थिए । आफूलाई ‘चार्टर्ड एकाउन्टेन्ट’बताउने शाहीले एकताका देशभरका स्थानीय तहहरुले गरेका अनियमितता तथा भ्रष्टाचारबारे हंगामा नै मच्याए । यद्यपि शाही राष्ट्रिय प्रजातन्त्र पार्टीका वर्तमान प्रवक्ता हुन् । अहिले उनी पार्टीको देशब्यापी सभामा भाग लिने दौडाहामा देखिन्छन् ।

एब्म क्रममा गत चैत्र ७ गते राप्रपा सुनसरीले आयोजना गरेको आमसभालाई सम्बोधन गर्न उनी बराहक्षेत्र नगरपालिका आए । शाहीको भाषण सुन्नकै निम्ति दुरदुरबाट कार्यकर्ता र नागरिकको उपस्थिति प्रष्ट देखिन्थ्यो । नभन्दै शाहीको भाषण गर्ने समय भयो । एमसीसी र पार्टीको एजेन्डाबारे उनले गर्जिएर बोलेपश्चात बराहक्षेत्र नगरपालिकाको ‘डाटा’सुन्न आग्रह गरे । उनी भन्दैथिए, ‘यहाँको डाटा कोको तयार हो ?’ हुटिङ बज्दै थिए,‘ुहामी सबै ।’ तब उनले सुरु गरे, ‘यस नगरको आर्थिक वर्ष २०७५र०७६, २०७७र०७८, २०७८र०७९ को जम्मा बजेट २ अर्ब, ६७ करोड १३ लाख ७१ हजार छ ।’अझै गर्जिदै उनले थपे, ‘तीन वर्षमा यहाँका छोटे राजाहरुले १४ करोड ७८ लाख ६ हजार बेरुजु गरेका छन्, जुन रकम अहिलेसम्म क्लियर गरेका छैनन्, यो पैसा तपाईंहरु खोज्नुस् ।’

फेरि भन्दैथिए,‘ुत्यति मात्र हैन्, यिनीहरूले अन्य खर्च भनेर ३ वर्षमा १ अर्ब, १४ करोड ८१ लाख ६१ हजार बिना बिलको खर्च गरेका छन्, जुन न चालू खर्च, न पुजिगत खर्च न त बित्तिय खर्च नै हो, यो सिर्फ मोजमस्ती खर्च हो, त्यो पैसा यहाँका जनप्रतिनिधिलाई मुद्दा हालेर तिराउनुस् ।’

भ्रष्टाचार विरोधी अभियन्ता हुँदैगर्दा (तीन वर्ष अगाडि) उनले इटहरी आएर बराहक्षेत्र नगरपालिकाको मोजमस्ती खर्चबारे बोलिसकेका थिए । सोही सन्दर्भमा सम्झिदै शाहीले थपे,‘यसअघी इटहरीमा आएर यहाँको भ्रष्टाचारको बिरोध गर्दा यहाँका जनप्रतिनिधिले ज्यान मार्ने धम्की दिएका थिए ।’ यद्यपि त्यतिबेला बराहक्षेत्र नगरले शाहीको अभिव्यक्ति झुटो भएको भन्दै प्रेस बिज्ञप्ती जारी गरेको थियो ।

तर अहिले उनै शाहीले बराहक्षेत्र नगरपालिकाको कार्यालय अगाडि नै आएर जनप्रतिनिधिले मोजमस्ती गर्नका लागि १ अर्ब बढी रकम खर्च गरेको बताउदा पनि नगरपालिका मौन देखिएको छ । शाहीले बोलेको हप्ता दिन बितिसक्दा पनि नगरपालिका मौन हुनुको अर्थ नगरवासी आआफ्नै किसिमले व्याख्या गर्न थालेका छन् ।

यसैबीच राजनीति विश्लेषक गोकुल थापा भन्छन्, शाहीले उठाएको सवाल सोर्हैहाना जायज छ, नगरपालिकाले यसबारे स्पष्ट जवाफ दिनुपर्दछ । आजसम्म पनि नगरको यसबारे ध्यानाकर्षण नहुनु गैरजिम्मेवारीको पराकाष्ठा हो, यदि नगरले आर्थिक हिनामिना गरेको छैनभने यसको जवाफ तुरुन्त दिनसक्नुपर्दछ, उनले भनें ।

यसैसन्दर्भमा प्रदेशपोर्टलकर्मीले जवाफ लिनेक्रममा पटकपटक सम्पर्क गर्दासमेत नगरप्रमुख निलम खनालसँग सम्पर्क हुन सकेन । यता, उपप्रमुख कमला मगरले भने शाहीले दिएको त्यसखाले अभिव्यक्ती आफूलाई थाहै नभएको बताएकी छन् ।

त्यस्तै, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र गिरिले भने शाहीको अभिव्यक्ति गलत भएको बताएका छन् । उनले भने, कसले कहाँ, कसरी, के अभिव्यक्ति दिन्छ ? हामीलाई त्यसको पछी लागेर हिड्ने फुर्सद छैन् । नगरपालिकामा आधिकारिक रूपमा कसैले जवाफ लिन चाहेमा आफूहरूले बेरुजु, भ्रष्टाचार, अपचलन सबैको जवाफ दिने उनको भनाइ छ ।