इटहरीः चुनावको मिति तय भएपछि धनकुटाको साँगुरीगढी गाउँपालिकामा पनि स्थानीय चुनावको चहलपहल शुरु भएको छ ।

१० वटा वडा रहेको साँगुरीगढी गाउँपालिकामा अघिल्लो स्थानीय निर्वाचनमा नेकपा एमालेका कुमारजंग याखाले बाजी मारेका थिए भने नेपाली कांग्रेसका जितेन्द्र रुम्दाली राई प्रत्यासी उम्मेद्वार बनेका थिए । त्यतिवेलाको निर्वाचन परिणाम हेर्ने हो भने याखाले ४ हजार ४ सय ४९ मत पाउँदा प्रत्यासी उम्मेद्वार राईले ३ हजार ३ सय ३३ मत ल्याएका थिए ।

यसपालाको निर्वाचनमा नेपाली कांग्रेसबाट मुलतः दुई जना आकांक्षी देखिएका छन् । आकांक्षीहरुमा अघिल्लो निर्वाचनका प्रतिष्पर्धी जितेन्द्र रुम्दाली राई र नेपाली कांग्रेसकै नेपालधन राई रहेको चिया चौतारीहरुमा सुनिन थालेको छ । अघिल्लो निर्वाचनमा झण्डै झण्डै जीत हाँसिल गरेका जितेन्द्र रुम्दालीको सम्भावना बलियो रहेको पार्टी निकट स्रोतको दावी छ ।

जितेन्द्रले अघिल्लो निर्वाचनमा एक हजार एक सय १६ मतले हार व्यहोरेका थिए भने यसपाला नेकपा एमालेमा आएको फुट र अन्य विविध कारणले काँग्रेसको अवस्था मजबुत हुँदै गएकाले रुम्दालीको सम्भावना बलियो देखाएको छ । क्षेत्रिय स्तरको कांग्रेस नेता समेत रहेकाले रुम्दाली वडास्तरमा समेत राम्रो पहुँच र मतदाता रहेको बताइन्छ ।

होटल व्यावसायी रुम्दाली भेडेटार होटल एसोसिएसनका अध्यक्ष समेत हुन् । पर्यटकिय हिसावमा भेडेटारलाई चिनाउन लामो समयदेखि क्रियासिल रहेका उनको सम्भावना निकै राम्रो रहेको छ ।

उता नेपाली कांग्रेसकै आकांक्षी देखिएका नेपालधन राई नेपाली कांग्रेसको साँगुरीगढी गाउँपालिकाका सभापति हुन् । गाउँपालिकाको सभापति रहेकाले आफुले नेतृत्व गरेको पार्टीको गाउँपालिका कमिटिमा आफुले टिकट पाउनु पर्ने आकांक्षा राईले देखाएको पाइन्छ ।

उता अघिल्लो स्थानीय निर्वाचनमा गाउँपालिकाको अध्यक्ष जितेको नेकपा एमालेले कसलाई अगाडी सार्ने भन्ने टुँगो लगाइसकेको छैन् । वर्तमान गाउँपालिकाका अध्यक्ष कुमार जंग याखाले आफैँ दोहोरिने इच्छा राखिसकेको उनि निकट पार्टी स्रोतले बताएको छ । तर पाँच बर्षे कार्यकालमा भेडेटारको पर्यटनमा उनले खासै केही नगरेको भन्दै पर्यटनकर्मी याखासँगै खुसि छैनन्, यसो हुनाले दोहोरीने इच्छा देखाएपनि याखाले जित्ने सम्भावना कम रहेको बताइन्छ । यसैगरी नेकपा एमालेबाट देउमान राई र हरेन राईले पनि साँगुरीगढी गाउँपालिकाको अध्यक्षको लागि आकांक्षा राखेको भेडेटारका चिया चौतारीहरुमा सुनिन आएको छ ।

यता अघिल्लो स्थानिय निर्वाचनमा मधेशी जनअधिकार फोरम नेपालको उम्मेद्धवार बनेका जंग बहादुर राईले सबैभन्दा कम मत ल्याएका थिए । अहिले फोरम जनता समाजबादीमा समाहित भएको छ । जसपा अहिले साँगुरीगढीमा राम्रो प्रभाव बनाएको छ । जसपाबाट साँगुरीगढीमा गाउँपालिका अध्यक्ष पदमा बलबहादुर राईको चर्चा हुन थालेको छ । बलबहादुर राई धनकुटा जिल्लाका लागी पुराना नेता मानिन्छन् । जसपाबाटै अर्का लिलाराज लावतीको पनि गाउँपालिका अध्यक्षमा चर्चा सुनिन्छ तर लावतीले भने यसपाला गाउँपालिकामा नउठ्ने संकेत गरेका छन् । समाजसेवा गर्न निर्वाचन नै लड्नु नपर्ने लावतीको भनाई छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले अघिल्लो निर्वाचनमा ४ सय ७९ मत ल्याएको थियो । यसपाला पनि निर्वाचनमा विँडो थाम्नकै लागि भएपनि राप्रपा निर्वाचनमा होमिने मुडमा भएको बुझिएको छ । तर उम्मेद्धवार भने टुगोँ लगाईसकेको छैन ।

यता नेकपा माओवादी केन्द्रले पनि उम्मेद्वारको बिषयमा स्पष्ट धारणा बाहिर ल्याएको छैन् । अघिल्लो निर्वाचनमा माओवादीका जगत बहादुर राईले ६९५ मत ल्याएका थिए । यसपालिको निर्वाचनमा माओवादि गठबन्धन गरेर अघि बढ्ने मुडमा छ । गठबन्धनका लागि आफु नजाने र प्रस्ताव आए विचार गरेर जाने निती लिएको माओवादी एक्लै लड्दा हारिने प्रष्ट भएको विश्लेषकहरुको भनाई छ ।

यसो त जिल्लास्तरीय निर्णय गरेर धनकुटाका राजनितिक पार्टीहरुले जिल्लामा गठबन्धन गरेर एमालेलाई एक्लाउने सार्वजनिक गरिसकेका छन् । साना पार्टीहरु एक्ला एक्लै लड्दा जित्न नसक्ने भएकाले पनि गठबन्धन गर्ने मुडमा छन् भने काँग्रेस, एमाले र जनता समाजवादी साँगुरीगढी गाउँपालिकाका लागि नाम चलेका र सम्भावना बोकेका पार्टीमा पर्छन् । उनिहरु गठबन्धन नभएपनि एक्ला एक्लै लड्न सकिने बोल्दै आएका छन् ।

गठबन्धन गर्ने जिल्ला स्तरीय निर्णय भएको हुनाले गाउँपालिका अध्यक्षको नेतृत्व अघिल्लो निर्वाचनमा प्रत्यासी बनेको कांग्रेसलाई दिने र उपाध्यक्षमा माओवादी अथवा जसपालाई दिने भन्ने छलफल अघि बढिरहेको नगरस्तरीय नेताले प्रदेशपोर्टललाई बताएका छन् । गाउँपालिकामा आफ्नो भुमिका ठुलो पाइए वडाहरुमा खुम्चिनु पर्ने बाध्यता रहेकै कारण ठुला पार्टीहरु गठबन्धनबाट भाग्न खोज्ने गरेको पाइन्छ ।